काठमाण्डौ । इ–पासपोर्ट खरिद प्रक्रियासम्बन्धी अनुसन्धानका क्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसकी नेता तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई पनि अनुसन्धानको दायरामा ल्याएको छ।
अख्तियारको टोलीले मंगलबार बूढानीलकण्ठस्थित देउवा निवास पुगेर बयानका लागि उपस्थित हुन निर्देशनसहित म्याद तामेल गरेको हो।
तर, देउवा दम्पती हाल स्वदेशमा नरहेको र उपचारका लागि विदेशमा रहेको जनाइएको छ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते उक्त निवासमा आगजनी भएपछि हाल भत्काउने काम भइरहेको छ।
आन्दोलनपछि देउवा दम्पती उक्त निवासमा नबसी महाराजगञ्जस्थित भाडाको घरमा बस्दै आएका थिए।
अख्तियारले म्याद तामेलीका लागि बूढानीलकण्ठ–२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठमार्फत सम्पर्क गरेको थियो।
उनले देउवा परिवारका तर्फबाट भानु देउवासँग समन्वय गराएको जनाइएको छ।
भानु देउवा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव हुन्।
यसबीच भानु देउवाले भने पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासम्बन्धी म्याद तामेलीका विषयमा आफूलाई विस्तृत जानकारी नभएको प्रतिक्रिया दिएका छन्।

