काठमाण्डौ । खानेपानीमन्त्री प्रदीप यादवको विशेष निर्देशनपछि मेलम्ची खानेपानी आयोजनाको वितरण सञ्जाल निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइएको छ ।
मन्त्री यादवको विशेष निर्देशन पश्चात खानेपानी अभाव झेलिरहेका काठमाण्डौ उपत्यकाबासी अब शुद्ध र सफा मेलम्चीको पानी पिउन पाउने भएका छन् । सो कार्यका लागि अहिले काठमाण्डौ उपत्यका भरीका नागरिकहरुलाई मेलम्चीको शुद्ध अनि सफा खानेपानी वितरणका लागि सञ्जाल निर्माणको कार्य फाष्ट ट्रयाक अन्तरगत अगाडि बढेको छ ।
काठमाण्डौ उपत्यकामा रहेका नागरिकका घरघरमा मेलम्चीको पानी पुर्याउने मन्त्री यादवको उदेश्य र लक्ष अनुसार आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले ‘काठमाण्डौ उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण)’ अन्तर्गत वितरण सञ्जाल सुधार तथा प्रणाली स्थायीत्व सेवाका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ ।
काठमाण्डौ उपत्यकावासी सहित चक्रपथ बाहिरका क्षेत्रहरूका नागरिकलाई भरपर्दो र व्यवस्थित खानेपानी सेवा उपलब्ध गराउने उद्देश्यसहित चक्रपथ बाहिरका क्षेत्रहरूमा समेत मेलम्चीको खानेपानी वितरणका लागि सञ्जाल निर्माणको फाष्ट ट्रयाक अन्तरगत प्रक्रिया सुरु भएको मन्त्री यादवले बताए।
उनले भने ‘मेलम्चीको पानी चक्रथप बाहिरका क्षेत्रमा रहेका नागरिकलाई बितरण गर्ने मेरो उदेश्य अनुसार प्रक्रिया सुरु भएको छ । लामो समयदेखि पानी बितरणका लागि थालेको मेरो प्रयासले बल्ल सार्थकता पाउँदैछ ।’
काठमाण्डौ उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत नेपाल सरकारको बजेट र एसियाली विकास बैंकको ऋण सहयोगमा शुरू गर्न लागिएको उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण( अन्तर्गत काठमाण्डौ, बूढानीलकण्ठ, गोकर्णेश्वर, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर ठिमी नगरपालिकाहरूमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गर्न लागिएको आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) टिकाबहादुर चौधरीले जानकारी दिए ।
उनले भने ‘मन्त्री ज्युको लामो मिहीनेत पश्चात अहिले हामी चक्रपथ बाहिरका क्षेत्रहरूमा समेत अब मेलम्चीको खानेपानी वितरण सञ्जाल निर्माणको तयारीमा जुटेका छौँ । त्यसका लागि आवश्यक प्रक्रिया सुरु भइसहेको छ ।’
आयोजनाको दोस्रो चरणमा भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाका विभिन्न क्षेत्रमा गरी १५१.३० किलोमिटर, कीर्तिपुर, काठमाण्डौ र चन्द्रागिरी नगरपालिकाका विभिन्न क्षेत्रमा गरी ७५.९८ किलोमिटर, मध्यपुर थिमी नगरपालिका क्षेत्रमा ३०८.१५ किलोमिटर, कपन र जोरपाटी उत्तर क्षेत्रमा गरी २००.२३ किमी र जोरपाटी दक्षिण र पेप्सीकोला क्षेत्रमा १३९.७४ किमी गरी कूल ८७५.४ किमी खानेपानी वितरण सञ्जाल निर्माण गर्ने लक्ष्य रहेको आयोजना उपनिर्देशक एवं प्रवक्ता ई विकेश बधानथाछेले बताए ।
उनका अनुसार जसअन्तर्गत वितरण सञ्जालका ८२८.९२ किमी पिइपाइप र ४६.४८ किमी डिआई पाइप बिच्छ्याइनेछ ।
यी क्षेत्रमा खानेपानी वितरण सञ्जाल निर्माण कार्यलाई छिटोछरितो रूपमा अगाडि बढाउनका लागि भक्तपुर, कीर्तिपुर, ठिमी, कपन, जोरपाटी उत्तर तथा जोरपाटी दक्षिण र पेम्सीकोला क्षेत्र गरी विभिन्न पाँच प्याकेजमा बर्गीकरण गरी खानेपानी वितरण सञ्जाल निर्माण गरिने प्रमुख चौधरीले बताए ।
उनका अनुसार आयोजनाको दोस्रो चरणमा निर्माण गरिने खानेपानी वितरण सञ्जालबाट ती क्षेत्रका करिव ६३ हजार घरधुरी लाभान्वित हुनेछन् । आयोजनाको दोस्रो चरणको निर्माण कार्य निर्माण शुरू भएको मितिले तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
मन्त्री यादवको प्रयास एवं निर्णय अनुसार काठमाण्डौ उपत्यका खानेपानी सुधार आयोजन (दोस्रो चरण) को निर्माण कार्य अगाडि बढाउनका लागि पिआईडीले आवश्यक पूर्वतयारीका कार्य सम्पन्न गरी पाँचवटै प्याकेजको निर्माणका लागि बोलपत्र आह्वान गरिसकेको खानेपानी मन्त्रालयका सचिव ई प्रमिलदेबी शाक्य बज्राचार्यले जानकारी दिए ।
उनका अनुसार आयोजनाको दोस्रो चरणको निर्माण कार्य सम्पन्न भएपछिको एक वर्षसम्म खानेपानी वितरण सञ्जालको प्रणाली स्थिरीकरण र सञ्चालन सहितको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निर्माण व्यवसायीको हुने प्रावधान राखिएको छ ।
यसअघि, काठमाण्डौ उपत्यका खानेपानी सुधार आयोजना (पहिलो चरण) अन्तर्गत काठमाण्डौ उपत्यकामा करिव ३० किलोमिटर प्राइमरी पाइपलाइन र ३३ वटा खानेपानी वितरण सञ्जालका करिव ९८० किलोमिटर नयाँ पाइपलाइन समेत गरी कूल एक हजार १० किलोमिटर नयाँ पाइपलाइनको सञ्जाल निर्माण भइसकेको छ ।
यसैगरी, आयोजनाको पहिलो चरणमै काठमाण्डौ उपत्यकाका विभिन्न नौँ स्थानमा १० वटा पानीपोखरी निर्माण र सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रबाट उपत्यकाका विभिन्न स्थानमा रहेका पानीपोखरीहरूमा थोकरूपमा पानी आपूर्ति गर्न थोक वितरण प्रणालीका ७७ किमी पाइपलाइन विच्छाउने कार्य समेत सम्पन्न भएको छ ।
काठमाण्डौ उपत्यकावासीलाई भरपर्दो र व्यवस्थित खानेपानी सेवा उपलब्ध गराउने उद्देश्यसहित काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड(केयुकेएल) अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले पाँच ठूला प्याकेजमा खानेपानी वितरण सञ्जाल सुधार गर्ने जनाइएको छ ।