काठमाण्डौ । बुधबार ६२.२५ अंकले बढेको बजार साताको अन्तिम कारोबारमा दोहोरो अंकको गिरावटका साथ २६६१.६४ को विन्दुमा बन्द भएको छ । सेयर बजारको बढोत्तरी एकदिन पनि नटिकेपछि अघिल्लो दिन सेयर किनेका लगानीकर्ताहरु अलमलमा परेका छन् ।
सरकारले समयमा नै गभर्नर नियुक्ति गर्न नसक्दा लगानीकर्ताको मनोबल पनि खस्किएको छ । ब्रोकर हाउसहरुमा भेटिने लगानीकर्ताले पनि सेयर बजारको आगामी दिशा गभर्नर नियूक्तिमै अडिएको तर्क गर्ने गरेका छन् । खासगरि सरकारले प्रजातान्त्रिक धारको गभर्नर नियुक्ति गरेको खण्डमा बजार रकेट्को गतिमा माथी जाने तर्क गर्ने लगानीकर्ताहरु पनि बजारमा भेटिन्छन् । आज श्वेता सेक्यूरिटिज (स्कट ब्रोकर नम्बर २५) मा भेटिएका एक लगानीकर्ताले अहिले सिजनको समयमा बजार यसरी अलमलमा पर्नु पर्ने कुनै पनि कारण नरहेको तर्क गरे ।
प्राविधिक पक्षको समेत जानकार टेकेन्द्र थपलियाले आजको करेक्सनलाई ‘बुल ट्रयाप’ भन्न नमिल्ने तर्क गरे । बजारको दिशा यहि हो भन्नलाई अझै एक दुई दिनको कारोबार नियाल्नु पर्ने पनि उनको तर्क रहेको छ । ‘आज बजार २६६० विन्दुभन्दा माथि टिकेको छ । आगामी कारोबारमा यदि बजार आजको उच्च विन्दु २६९० अर्थात त्यो भन्दा माथि २७०० मा बन्द भएको खण्डमा भने हालको लागि करेक्सन सकिएको मान्न सकिन्छ’ उनले भने ।
डेड क्याट बाउन्स भनेको के हो ?
यदि घटिरहेको बजारमा अल्पकालीन तथा छोटो समयका लागि बजार तथा कुनै कम्पनीको सेयरमूल्य फर्किन्छ भने यसलाई ‘डेडक्याट बाउन्स’ अर्थात मरेको बिरालो भनिन्छ । यदि कुनै पनि कम्पनीको मूल्य तथा बजार सूचकमा अल्पकालिन र्याली आउँछ र कुनै पनि आधारभूत तत्वले काम नगरी पुनः मूल्य तथा सूचकमा गिरावट आउँछ भने त्यसलाई आधारभूत रुपमा डेड क्याट र्याली भनेर बुझिन्छ ।
त्यसैगरी, प्राविधिक रुपमा पनि डेड क्याट बाउन्सलाई परिभाषा गरेको पाइन्छ । यदि निरन्तर बढेको बजार तथा वस्तुको मूल्यमा गिरावट आउँछ र पुनः अल्पकालीन बढोत्तरी आएर ‘भी’ आकार बनाउँछ भने त्यसलाई पनि डेड क्याट बाउन्स भनेर बुझिन्छ ।
कसरी पर्छन् लगानीकर्ता बुल ट्रयापमा ?
कुनै पनि सेयर अथवा सूचक केही समय बढेपछि डेड क्याट बाउन्सको अवस्था आउछ । यस्तो बढेको अवस्थामा एकथरी लगानीकर्ताले सेयर बेच्न सकेका हुँदैनन् । जब बजार घट्न थाल्छ यस्ता लगानीकर्ताले पहिलेको सूचक तथा सेयरमूल्य हेरेर पुछुतो मान्ने गर्छन् र बढ्दा बेच्ने मनस्थिति बनाएका हुन्छन् ।
अर्काथरी लगानीकर्ता जसले किन्नका लागि करेक्सन कुरेर बसेका हुन्छन् तर बजार बियरिस ट्रेन्डमा पुगेको थाहा पाएका हुँदैनन् उनीहरु बजार केही घटेपछि पुनः बजारमा छिर्छन् ।
यी दुईथरी लगानीकर्ताको कारोबारले बजारमा डेड क्याट बाउन्सको अवस्था सिर्जना हुन्छ । सेयर बजारमा बोलीचालीको भाषामा यसलाई ‘बुल ट्रयाप’ पनि भनिन्छ ।
उदाहरणका लागि यदि कुनै पनि कम्पनीको सेयरमूल्य बढेर १०० रुपैयाँ पुगेको थियो तर घटेर ७० रुपैयाँमा आएपछि लगानीकर्ताले खरिद गर्दै गएर ९० रुपैयाँसम्म पुग्यो । तर, पछि घटेर पुनः ५० रुपैयाँमा आयो भने ७० रुपैयाँदेखि ९० रुपैयाँसम्म खरिद गर्ने लगानीकर्तालाई बुल ट्रयापमा परेको भनेर बुझ्न सकिन्छ ।
बटम प्वइन्ट फिसिङ भनेको के ?
कुनै पनि सेयरको मूल्य आन्तरिक तथा बाह्य कारणले घटेर तल्लो विन्दुमा आएको वा अन्डरभ्यालु भएको अवस्थामा खरिद गर्ने जुक्तिलाई सेयर बजारमा ‘बटम प्वइन्ट फिसिङ’ भनिन्छ । यस्तो रणनीति खरिदकर्ताको आधारभूत तथा प्राविधिक ज्ञान र अनुभवका आधारमा सेयर बजारमा लागू गरिन्छ । यसलाई ‘बाई इन लो एन्ड सेलिङ इन हाई’ पनि भनिन्छ ।
यस्तो रणनीति खासगरी विश्वका प्रख्यात लगानीकर्ता वारेन बफेट र बेन्जामिन ग्रामले भ्यालु इन्भेस्टिङ रणनीतिमा प्रयोग गरेका हुन्छन् । यस्तो अवस्थामा खरिद गरिएका सेयरहरुमा उच्च नाफाको सम्भावना रहेको हुन्छ ।
अहिलेको अबस्था कस्तो ?
अहिले बजारको अवस्था डेड क्याट बाउन्स वा बटम प्वइन्ट फिसिङ यहि नै हो भनेर प्रष्ट देखिदैन । केही फाइनान्स तथा लो क्याप कम्पनीहरुमा भने लगानीकर्ता ‘बुल ट्रयापमा’ परेको चर्चा ब्रोकर हाउसमा सुनिन्छ । तर आधारभूत रुपमा बलिया र तेस्रो त्रैमासमा सुधारिएको रिपोर्ट आएका कम्पनीहरुमा मध्य तथा र दीर्घकालिन लगानी भने बटम प्वइन्ट फिसिङ नै पनि हुन सक्छ ।