काठमाण्डौ । कोशी प्रदेशमा सञ्चालित एक बिस्कुट उद्योगबाट उत्पादित ‘गुडलाइफ’ ब्राण्डको डाइजेस्टिभ बिस्कुटमा गुणस्तर समस्या भेटिएको छ। उत्पादनमा रौं फेला परेपछि सम्बन्धित कम्पनीलाई कारबाही गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालिलाई २ लाख रुपैयाँ जरीवाना गर्ने निर्णय गरेको हो। विभागले उक्त रकम ७ दिनभित्र बुझाउन निर्देशन दिएको छ।
यो निर्णय बैशाख ४ गते गरिएको जनाइएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय मोरंगको संयुक्त अनुगमनका क्रममा उक्त बिस्कुटमा रौं फेला परेको थियो।
उद्योगीहरुले भने बिस्कुटमा रौं फेला पर्नु मानवीय कमजोरी भएको स्वीकार गर्दै सुधारको समय नदिई विभागको टोलीले एकैपटक जरीवानाको चिठी थमाएको गुनासो गरेका छन् ।

