काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि, उत्प्रेरणा र सशक्तिकरणलाई केन्द्रमा राख्दै ‘प्रयत्न निरन्तर: सम्मान र सबलीकरणको अवसर’ शीर्षकमा एकदिने विशेष कार्यक्रम सम्पन्न गरेको छ।
बागमती प्रदेश अन्तर्गत काठमाडौँ उपत्यकाका विभिन्न शाखाबाट आएका अभिकर्ताहरूलाई एकै ठाउँमा भेला गराउँदै कम्पनीले सीप विकास, अनुभव आदानप्रदान र नेटवर्किङ का अवसर प्रदान गरेको जनाएको छ।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर विजय कुमार झा को प्रशिक्षण सत्र रहेको थियो। उनले अभिकर्ताहरूलाई बिक्री सीप अभिवृद्धि, लक्ष्य निर्धारण, आत्मविश्वास विकास तथा प्रतिस्पर्धात्मक बीमा बजारमा सफल हुने व्यावहारिक रणनीतिबारे प्रशिक्षण दिएका थिए।
कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी सहित क्षेत्रीय तथा शाखा व्यवस्थापन टोली, इन्स्योरेन्स एडभाइजर, एजेन्सी डेभलपमेन्ट म्यानेजर र MDRT Achievers हरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै निमित्त सीईओ फुयालले अभिकर्ताहरूलाई कम्पनीको ‘मेरुदण्ड’ का रूपमा व्याख्या गर्दै उनीहरूको सशक्तिकरण नै संस्थाको दीर्घकालीन सफलताको आधार भएको बताए। त्यसैगरी, प्रमुख बजार अधिकृत चौलागाईले अभिकर्ताहरूलाई निरन्तर सिकाइ, अनुशासन र ग्राहकप्रति उत्तरदायित्व सहित अघि बढ्न आग्रह गर्दै यस्ता कार्यक्रमहरूले बजार प्रतिस्पर्धामा अग्रता दिलाउने विश्वास व्यक्त गरे।
कार्यक्रमका क्रममा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गरिएको थियो भने सहभागीहरूबीच अनुभव साझेदारी र प्रेरणा आदानप्रदानको वातावरण सिर्जना गरिएको थियो।
कम्पनीले यस्ता पहलमार्फत बीमा सेवाको पहुँच विस्तार गर्दै गुणस्तरीय सेवा प्रवाहलाई थप मजबुत बनाउने लक्ष्य राखेको जनाएको छ।
हाल सन नेपाल लाइफ इन्स्योरेन्सका देशभर १४८ शाखा तथा उपशाखा सञ्चालनमा रहेका छन्।

