काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर जारी राजनीतिक विवादकाबीच प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले पुनः अवरोध गरेका छन्।
१५ मिनेटका लागि स्थगित गरिएको बैठक पुनः शुरु भएलगत्तै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन्।
संसद्मा जारी अवरोधका कारण सभामुखले नियमित कार्यसूची अघि बढाउने प्रयास गरेपनि विपक्षी दलहरू आफ्नो अडानबाट पछि हटेका छैनन्।
उनीहरूले प्रधानमन्त्री शाहले आइतबार संसद्मा दिएको अभिव्यक्ति राष्ट्रिय हितविपरीत रहेको दाबी गर्दै उक्त भनाइ संसद्को अभिलेख (रेकर्ड) बाट हटाइनुपर्ने र प्रधानमन्त्रीले सदनमा उपस्थित भएर माफी माग्नुपर्ने माग दोहोर्याएका छन्।
बैठक सञ्चालनका क्रममा सभामुखले सांसदहरूलाई आफ्नो स्थानमा बसेर संसदीय प्रक्रियामा सहभागी हुन तथा सदनको कामकारबाही सुचारु बनाउन सहयोग गर्न आग्रह गरेका थिए।
तर, विपक्षी सांसदहरूले उभिएर विरोध जारी राखेपछि संसद्को वातावरण फेरि तनावग्रस्त बनेको थियो।

