काठमाण्डौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकमाथिको निगरानी र कारबाही अभियान तीव्र बन्दै गएको छ।
पछिल्लो २४ घण्टामा मात्र ट्राफिक नियम उल्लंघन गर्ने दुई हजारभन्दा बढी चालक कारबाहीमा परेका छन् ।
त्यसबाट राज्यकोषमा २७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार एकै दिनमा २ हजार ९३ सवारीचालकलाई विभिन्न ट्राफिक कसुरमा कारबाही गरिएको छ।
उनीहरूबाट जरिवानास्वरूप २७ लाख ३६ हजार ५०१ रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
कारबाहीमा पर्नेहरूमध्ये सबैभन्दा बढी संख्या विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूको रहेको छ।
ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन ९मापसे० गरेर सवारी चलाउने ९२ जना चालकलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ।
यस्तै, पछिल्लो समय बढ्दो विवादको विषय बनेको नियमविपरीतको ‘राइड सेयरिङ’ सेवामा संलग्न १६९ जना चालक पनि कारबाहीमा परेका छन्।
सडक सुरक्षामा प्रत्यक्ष असर पार्ने गतिविधिमाथि समेत ट्राफिक प्रहरीले कडाइ गरेको छ।
ट्राफिक संकेत बत्ती उल्लंघन गर्ने १४१ जना, तीव्र गतिमा सवारी चलाउने १०१ जना तथा लेन अनुशासन पालना नगर्ने ८२ जना चालकलाई जरिवाना गरिएको छ।
त्यसैगरी, निषेधित क्षेत्रमा हर्न बजाउने ९२ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने १०५ जना तथा एकतर्फी सडकमा सवारी सञ्चालन गर्ने १२९ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ।
यीबाहेक आवश्यक कागजात नबोक्ने, सवारी सञ्चालनसम्बन्धी अन्य नियम उल्लंघन गर्ने तथा ट्राफिक व्यवस्थापनमा अवरोध पुर्याउने १ हजार ९८२ जना चालकलाई विभिन्न शीर्षकमा कारबाही गरिएको कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण, सडक अनुशासन कायम तथा सुरक्षित यातायात प्रणाली विकासका लागि नियमित निगरानी र कारबाही अभियान जारी रहने जनाएको छ।
विशेषगरी मादक पदार्थ सेवन, तीव्र गति, ट्राफिक संकेत उल्लंघन तथा अवैध राइड सेयरिङजस्ता गतिविधिलाई प्राथमिकतामा राखेर निगरानी बढाइएको ट्राफिक प्रहरीको भनाइ छ।
उपत्यकामा सवारी चाप बढ्दै जाँदा ट्राफिक नियम पालना गराउने चुनौती पनि बढिरहेको छ।
यही कारण ट्राफिक प्रहरीले प्रविधिको प्रयोग, नियमित चेकजाँच र विशेष अभियानमार्फत सडक अनुशासन कायम गर्ने प्रयासलाई थप प्रभावकारी बनाइरहेको जनाएको छ।

