काठमाण्डौ । पछिल्लो समय सेयरबजारले लय लिन नसक्दा म्युचुअल फण्डहरुको वित्तीय अवस्था नै कमजोर भएको छ ।
वैशाख मसान्तसम्मको वित्तीय विवरणअनुसार संचालनमा रहेका खुला र बन्दमुखी गरी ५७ म्युचुअल फण्डले समग्रमा ९३ करोड ३६ लाख रुपैयाँ मात्रै नाफा कमाएका छन् ।
यो नाफा अघिल्लो महिनाको तुलनामा ७०.४० प्रतिशत कम हो । चैत महिनामा म्युचुअल फण्डहरुले समग्रमा ३ अर्ब १५ करोड ४५ लाख रुपैयाँ नाफा कमाएका थिए ।
सो अवधिसम्म आइपुग्दा अधिकांश फण्डको नाफा प्रभावित देखिएको छ । वैशाख महिनामा २० फण्डले घाटा ब्यहोरेका छन् भने ३७ फण्ड नाफामा छन् । नाफामा रहेका फण्डको पनि अघिल्लो महिनाको तुलनामा अधिकांशको मुनाफामा संकुचन आएको छ । माछापुच्छ्रे एसआइपी योजनाबाहेक सबै फण्डको नाफा घटेको छ ।
पछिल्लो समय सेयरबजारले उचाइ लिन नसकेका कारण म्युचुअल फण्डको नाफामा प्रत्यक्ष प्रभाव पारेको छ, जसकारण वैशाखमा सबै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) घटेको छ ।
बजारले लय लिन नसक्दा अहिले म्युचुअल फण्डहरु बजारमा लगानी थप्न समेत पर्ख र हेरको अवस्थामा छन् । चैत मसान्तसम्म २८३४ विन्दुमा रहेको नेप्से परिसूचक वैशाख मसान्तसम्म आइपुग्दा २७४० विन्दुमा कायम भएको छ । यसर्थ एक महिनाको अन्तरालमा सेयरबजार ३.३२ प्रतिशतले घटेको छ ।
वैशाखमा ३७ वटा फण्डले नाफा कमाएका छन् । सर्वाधिक कमाउनेमा प्रभु स्मार्ट फण्ड रहेको छ । यो फण्डले २३ करोड एक लाख रुपैयाँ नाफा कमाएको छ । तर यो नाफा अघिल्लो महिनाको तुलनामा ३०।५१ प्रतिशत कम हो ।
वैशाखमा २० फण्डले मात्रै १ अर्ब ३० करोड रुपैयाँ घाटा ब्यहोरेका छन् । सबैभन्दा बढी एचएलआई लार्ज क्याप फण्डले ५६ करोड ७७ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।
सबैको न्याभ घट्यो
म्युचुअल फण्डहरुको नाफा प्रभावित भएसँगै वैशाखमा सबै म्युचुअल फण्डको न्याभ घटेको छ ।
न्याभ कुनै पनि म्युचुअल फण्ड वा लगानी कोषको प्रतिइकाईको शुद्ध सम्पत्ति मूल्य हो । यो सूचकले फण्डको एक इकाई मूल्य कति छ भन्ने देखाउँछ । साथै लगानीकर्ताले कति इकाई किन्ने वा बेच्ने भन्ने हिसाब गर्न यो सूचक प्रयोगमा आउँछ ।
फण्डहरुको न्याभ बढ्दै जाँदा सम्पत्तिको मूल्य बढ्दै गएको र न्याभ घट्दै जाँदा मूल्य घट्दै गएको बुझिन्छ । साथै फण्डहरुको नाफा घटबढ हुँदा न्याभ पनि घटबढ हुने अवस्था आउँछ ।
तर उच्च न्याभ भएको फण्ड सँधै राम्रो र कम न्याभ भएको फण्ड सँधै नराम्रो भन्ने हुँदैन । लगानी गर्दा न्याभ मात्रै नभई विगतको प्रदर्शन, जोखिम स्तर, व्यवस्थापन गुणस्तर र फण्डको लगानी रणनीति पनि बुझ्न आवश्यक हुन्छ ।
वैशाखमा सबै फण्डको न्याभ खस्किएको छ । सबैभन्दा धेरै न्याभ प्रभु स्मार्ट फण्डको १४.८४ रुपैयाँ छ । अघिल्लो महिना यो फण्डको न्याभ १५.८५ रुपैयाँ थियो ।
सेयरबजारमा रु.६६.५९ अर्ब लगानी
सेयरबजारमा म्युचुअल फण्डहरुको साढे ६६ अर्ब रुपैयाँ लगानी रहेको छ । वैशाख मसान्तसम्मको वित्तीय विवरणअनुसार ५७ फण्डले सेयरबजारमा ६६ अर्ब ५९ करोड ७२ लाख रुपैयाँ लगानी गरेका छन् ।
यो लगानी रकम अघिल्लो महिनाको तुलनामा सामान्य कम हो । चैतमा फण्डहरुको सेयरबजारमा ६६ अर्ब ७० करोड ८ लाख रुपैयाँ लगानी थियो ।
सो अवधिसम्ममा ३९ वटा फण्डको सेयरबजारमा गरिएको लगानी घटेको छ भने १८ फण्डले मात्रै लगानी बढाएका छन् ।
सबैभन्दा बढी लगानी एनआइबीएल सहभागिता फण्डको ८ अर्ब ४९ करोड रुपैयाँमाथिको लगानी रहेको छ । यो लगानी रकम अघिल्लो महिनाको तुलनामा ३.८४ प्रतिशत बढी हो ।
सबैभन्दा बढी लगानी बढाउनेमा गरिमा सुवर्ण योजना रहेको छ । यो फण्डले चैत महिनाको तुलनामा वैशाखमा ३४२.३२ प्रतिशतले लगानी बढाएको छ ।




