काठमाण्डौं । विकास आयोजनाको बजेटमा अनियमित तरिकाले घुस लिएको आरोपमा मुद्दा खेपिरहेका मधेश प्रदेशसभा सदस्य सरोजकुमार सिंहलाई विशेष अदालतले दोषी ठहर गरेको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदूररप्रसाद कोइरालाको इजलासले उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो।
अदालतको फैसलाअनुसार सिंहलाई चार वर्ष एक महिना कैद सजाय तोकिएको छ भने ३८ लाख ५० हजार रुपैयाँ जरिवाना समेत गरिएको छ।
सो रकम राज्यकोषमा जफत गरिनेछ। साथै १ लाख ५४ हजार रुपैयाँ क्षतिपूर्ति स्वरूप पीडित राहत कोषमा दाखिला गर्न आदेश दिइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा उपभोक्ता समिति मार्फत विनियोजित विकास बजेटको करिब एक तिहाइसम्म रकम घुसका रूपमा लिइएको आरोप पुष्टि हुने आधार फेला परेको दाबी गरिएको थियो।
अनुसन्धानका क्रममा मन्दिर, धर्मशाला, सडक तथा स्वास्थ्य संरचना निर्माणजस्ता योजनामा व्यापक आर्थिक अनियमितता भएको देखिएको उल्लेख छ।
केही योजनामा बजेट स्वीकृत भएको भोलिपल्टै रकम व्यक्तिगत खातामा स्थानान्तरण भएको विवरणसमेत भेटिएको बताइएको छ।
अख्तियारका अनुसार २०७४ देखि २०८२ सम्म सिंहको खातामा करिब पाँच करोड रुपैयाँभन्दा बढी रकम शंकास्पद रूपमा जम्मा भएको देखिएको छ भने करिब १२ करोड रुपैयाँ बराबरको कारोबारको स्रोत स्पष्ट हुन नसकेको उल्लेख छ।
राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले पनि उपभोक्ता समितिबाट सांसदसँग सम्बन्धित खातामा शंकास्पद वित्तीय प्रवाह भएको संकेत गरेको थियो।
विशेष अदालतले यसअघि नै उनलाई दोषी ठहर गरिसकेको थियो भने हाल सजाय निर्धारणसँगै मुद्दा कानूनी रूपमा टुंगिएको हो।

