काठमाण्डौ । । सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको आईपीओसहित कुल १ करोड ७१ लाख ६० हजार कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनी र नेप्सेबीच आज सम्पन्न सम्झौताअनुसार प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु. १०० कायम रहेको उक्त सेयर सूचीकरण गरिएको हो।
नेप्सेका अनुसार कम्पनीको कुल जारी तथा चुक्तापूँजीअन्तर्गत रहेको १ करोड ७१ लाख ६० हजार कित्ता सेयरमध्ये ४२ लाख ९० हजार कित्ता (२५ प्रतिशत) सर्वसाधारणमा वितरण गरिएको तथा बाँकी १ करोड २८ लाख ७० हजार कित्ता (७५ प्रतिशत) संस्थापक समूहको स्वामित्वमा रहेको सेयर सूचीकृत गरिएको हो। कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी एनएमबी क्यापिटल लिमिटेडमार्फत सम्पन्न गरेको थियो।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम २०८३ जेठ १९ गतेको निर्णयअनुसार कम्पनीको सेयर सूचीकरण प्रक्रिया सम्पन्न भएको नेप्सेले जनाएको छ।
सूचना अनुसार कम्पनीको दोस्रो बजार कारोबार जेठ २५ गतेदेखि शुरु हुनेछ। कम्पनीलाई कारोबारका लागि नेप्सेले ‘एसओपीएल’ संकेत प्रदान गरेको छ ।
कम्पनीले आफ्नो जारी पूँजीको २५ प्रतिशत बराबर ४२ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।

