काठमाण्डौ । नेपालका नगरपालिकामा खानेपानी तथा सरसफाइ सेवाको पहुँच र गुणस्तर सुधार गर्ने उद्देश्यले एसियाली विकास बैंक (एडीबी) ले ११ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ।
एडिबीले उपलब्ध गराउने उक्त वित्तीय सहयोग ‘एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजना’ कार्यान्वयनका लागि उपयोग गरिनेछ।
यस परियोजनाबाट १३ जिल्लामा रहेका करिब आठ लाख ५० हजारभन्दा बढी नागरिक लाभान्वित हुने अनुमान गरिएको छ।
परियोजनाको मुख्य लक्ष्य खानेपानी आपूर्ति प्रणाली विस्तार गर्नुका साथै ढल तथा फोहरपानी व्यवस्थापनलाई प्रभावकारी र व्यवस्थित बनाउनु रहेको एडिबीले जनाएको छ।
एसियाली विकास बैंक नेपालका ‘कन्ट्री डाइरेक्टर’ आर्नो कोश्वाले शहरीकरण तीव्र रूपमा बढ्दै जाँदा धेरै नगर क्षेत्रमा खानेपानी तथा आधारभूत सरसफाइ सेवामा दबाब बढिरहेको बताए ।
उनका अनुसार अझै पनि उल्लेख्य संख्या समुदाय सुरक्षित खानेपानी र सरसफाइ सुविधाबाट वञ्चित छन्।
उनले उक्त परियोजना सफल रूपमा कार्यान्वयन भएमा खानेपानी र सरसफाइ सेवामा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरे ।

