काठमाण्डौ । भारतको सबैभन्दा ठूलो तेल कम्पनी इन्डियन आयल (आईओसी)ले हालका लागि रुसबाट तेल खरिद गर्ने सम्झौता रोकेको छ । कम्पनीले रुसको रोजनेफ्टबाट तेल किन्न वार्ता गरिरहेको थियो, तर कम्पनीले अहिले उक्त वार्ता रोकेको हो । भारत अब अमेरिकाबाट थप तेल किन्न चाहन्छ। यसको उद्देश्य अमेरिकाको व्यापार घाटा कम गर्नु रहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भर्खरै भारतमा २६ प्रतिशत कर लगाएका थिए । अमेरिकाको उच्च व्यापार घाटा भएका देशहरूमा भारत पनि पर्छ। यसै कारण भारत अमेरिकाबाट बढी कच्चा तेल किन्न चाहन्छ भन्ने विश्वास गरिएको छ ।
इन्डियन आयलका अध्यक्ष एएस साहनीले बजारका कारण यस्तो निर्णय गरेको बताए । यसमा सरकारको कुनै दबाब छैन । उनले भने, ‘अहिले हामी रोजनेफ्टसँग कुनै वार्तामा छैनौं, तर हामी त्यसका लागि तयार छौं।अमेरिकाबाट किन्ने दबाब छैन । हामीले आफ्नो आवश्यकता र मूल्य अनुसार तेल किन्छौं।’
उनले मार्च त्रैमासिकमा ७ हजार २६४.८ करोड भारु नाफा कमाएपछि यस्तो बताएका हुन्। अघिल्लो वर्षको सोही अवधिमा यो संख्या ४ हजार ८३७.६ करोड भारु थियो । युक्रेन युद्धपछि रुसले भारतलाई सहुलियतमा तेल दिँदै आएको थियो । रुस भारतको सबैभन्दा ठूलो आपूर्तिकर्ताको रूपमा उभिएको छ। तर हालैका महिनाहरूमा रूसी छूट घटेको छ।
यसैबीच, इन्डियन आयलले विश्व ऊर्जा व्यापारी ट्राफिगुरासँग ठूलो ग्यास सम्झौता गरेको छ । यो सम्झौता १.४ बिलियन डलरको छ र यसको अवधि ५ वर्षको छ। यसमा अमेरिकी मूल्य (हेनरी हब) अनुसार ग्यास उपलब्ध हुनेछ ।यसले अमेरिकाबाट ग्यास आउने सम्भावना बढेको छ । साहनीले कुनै पनि तेल कम्पनीको मोडलमा मिल्नुपर्ने बताए । यो मोडलले बजारलाई कस्तो प्रकारको तेल चाहिन्छ र सस्तो मूल्यमा कहाँ पाइन्छ भन्ने कुरा हेर्ने उनले बताए ।
उनले रुससँग चलिरहेको भू–राजनीतिक तनाव र अन्य ठाउँबाट सस्तो तेलको उपलब्धतालाई औंल्याउँदै सम्झौताका लागि अहिले उपयुक्त समय नभएको बताए । २०२४/२५ मा इन्डियन आयलले खरिद गरेको तेलमा रुसी तेलको हिस्सा २२ प्रतिशत थियो। यो २०२३/२४ मा ३१ प्रतिशत थियो ।
साहनीले रुसमाथि नयाँ प्रतिबन्ध लगाउनुअघि नै रुसी तेलको खरिद घटेको बताए । इन्डियन आयलले अझै पनि टेन्डरमार्फत रुसी तेल किन्ने गरेको छ । मूल्य ठीक रहेमा यो क्रम जारी रहने उनले बताए ।
तर, साहनीले ट्राफिगुरासँगको ग्यास सम्झौतामा अमेरिकाबाट ग्यास आपूर्तिका लागि कुनै शर्त राखेको छ वा छैन भन्न अस्वीकार गरे । यो सम्झौता अन्तर्गत २५ लाख टन एलएनजी (लिक्विफाइड नेचुरल ग्यास) खरिद गरिनेछ ।यो २७ पटा ढुवानीमा पठाइनेछ र यो आर्थिक वर्षको दोस्रो त्रैमासमा सञ्चालन हुनेछ। एलएनजी एक प्रकारको ग्यास हो, जसलाई पानीजहाजमा सजिलै ओसारपसार गर्न सकिने गरी चिसो र तरल बनाइन्छ।