काठमाण्डौ । यामाहा नेपालले ग्राहकमैत्री कदम चालेको छ । जस अनुसार अब यामाहा मोटरसाइकल र स्कुटरका लागि आवश्यक पर्ने जेन्युइन स्पेयर पार्टहरू नेपालकै लोकप्रिय अनलाइन सपिङ साइट दराजमा पाउन सकिन्छ। यसबाट देशभरका यामाहा सवारीधनीहरू जुनसुकै ठाउँबाट र जुनसुकै समयमा सहज रूपमा स्पेयर पार्टहरू खरिद गर्न सक्नेछन्।
नेपालमा अनलाइन किनमेल क्रमशः बढ्दो क्रममा रहेका बेला यामाहाको यो नयाँ प्रयास निकै सान्दर्भिक रहेको कम्पनीले जनाएको छ। ग्राहकहरूले अब शोरूममा गएर पार्ट खोज्नुपर्दैन, दराजमा गएर सजिलै स्पेयर पार्ट्सका लहरमा हेर्न र आफूलाई आवश्यक परेको पार्ट्स केही क्लिकमै अर्डर गर्न पनि सकिन्छ।
दराजमा यामाहाका मोटरसाइकल र स्कुटरका लागि छुट्टै यामाहा जेन्युइन स्पेयर पार्टहरूको क्याटलग उपलब्ध छ। यी सबै पार्टहरू कम्पनीकै मापदण्डअनुसार गुणस्तर, पर्फर्मेन्स, टिकाउ र सुरक्षाको उच्च स्तर सुनिश्चित हुने गरी निर्माण गरिएका हुन्। यसले सवारीलाई राम्रो अवस्थामा राख्न सहयोग पुर्याउँने कम्पनीले उल्लेख गरेको छ ।
सवारी साधनहरू लामो समय टिक्नको लागि जेन्युइन पार्टहरूको प्रयोग महत्त्वपूर्ण हुन्छ। सस्तो वा नक्कली पार्ट प्रयोग गर्दा समस्या आउने, नटिक्ने वा सवारीमै क्षति पुर्याउने सम्भावना बढी हुन्छ। अब दराजमा यामाहाका १०० प्रतिशत असली स्पेयर पार्टहरू पाइने भएकाले ग्राहकहरू निश्चिन्त हुन सक्ने कम्पनीको दाबी छ ।