काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । गत वर्षसम्म नविकरणकै आधारमा चलेको जीवन बीमकको व्यापारमा अहिले नयाँ व्यवसायले पनि गति लिन थालेको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ११ महिनासम्ममा जीवन बीमकहरुले नयाँ व्यवसायमार्फत ३४ अर्ब ९ करोड ८५ लाख रुपैयाँ बीमाशुल्क भित्र्याएका छन् । यो गत आवको सोही अवधिसम्मको तुलनामा २३.६९ प्रतिशत बढी हो ।
गत आवको ११ महिनासम्ममा १४ जीवन बीमकले नयाँ व्यवसायमार्फत् २७ अर्ब ५६ करोड ७८ लाख रुपैयाँ प्रिमियम भित्र्याएका थिए ।
गत आवमा देशको अर्थतन्त्रले भनेजस्तो लय लिन नसक्दा बीमकहरुले नयाँ व्यवसाय बढाउन सकिरहेका थिएनन् । कोरोना महामारीले शिथिल भएका व्यवसाय र उद्योगहरु पुर्नरुत्थान हुन नसक्दा जीवन बीमकहरुको व्यवसाय नविकरण बीमाशुल्कले धानेको थियो ।
तर केही समययता वा यस वर्ष उद्योग व्यवसायहरु फस्टाउँदै गएसँगै देशको अर्थतन्त्रमा सुधार देखिन थालेको छ । रोजगारीका अवसरहरु सिर्जना हुन थालेको छ । यसकारण बीमा कम्पनीहरुको नयाँ व्यवसाय पनि उल्लेख्य बृद्धि भएको देखिएको छ । बीमा प्राधिकरणको तथ्याङ्कअनुसार १४ वटै जीवन बीमा कम्पनीको नयाँ व्यवसाय गत आवको तुलनामा बृद्धि भएको छ ।
पछिल्लो समय बैंकहरुको मुद्दती निक्षेपको ब्याजदर घट्दै गएपछि बीमा गर्नेको संख्या बृद्धि भएको देखिन्छ । बीमा प्राधिकरणका अनुसार बीमाको दायरामा आएको जनसंख्या प्रतिशत समेत बृद्धि हुँदै गइरहेको छ । वैशाख मसान्तसम्म ४७.३९ प्रतिशत जनसंख्या बीमाको दायरामा आएका छन्, जुन यो हालसम्मकै उच्च हो ।
सो अवधिसम्म सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले नयाँ व्यवसायमार्फत ८ अर्ब २२ करोड ९० लाख रुपैयाँ प्रिमियम भित्र्याएको छ । जुन यो बीमकहरुको कुल नयाँ व्यवसायको २४.१३ प्रतिशत हिस्सा हो ।
त्यस्तै, नेशनल लाइफले ४ अर्ब ९१ करोड, सूर्यज्योति लाइफले २ अर्ब ६० करोड, एलआइसी नेपालले २ अर्ब ४१ करोड, हिमालयन लाइफले २ अर्ब ३१ करोड, सिटिजन लाइफले १ अर्ब ९२ करोड, एशियन लाइफले १ अर्ब ७८ करोड, सानिमा रिलायन्स लाइफले १ अर्ब ७१ करोड, रिलायबल नेपाल लाइफले १ अर्ब ५३ करोड, आइएमई लाइफले १ अर्ब ५३ करोड, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ३९ करोड, सन नेपाल लाइफले १ अर्ब ३६ करोड, मेट लाइफले १ अर्ब २५ करोड र राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।