काठमाण्डौ । जब विश्वभरको अर्थतन्त्र अस्थिर बन्दै गएको छ, दक्षिण एसियाली महिलाहरू भने सुनमा लगानी गर्दै समृद्धिको अर्को अध्याय लेखिरहेका छन्। मियामीकी फारजाना घानीजस्तै महिलाहरूका लागि सुन न केवल आर्थिक सुरक्षाको उपाय हो, यो त भावनात्मक स्मृतिको संग्रह पनि हो।
"मेरो सासुआमाले बिहेमा दिएको झपक्क सजिएको गहनाबाट लिएर आमाले हज गरेपछि उपहार दिएको सुनको सिक्का र छोरी जन्मिएको खुशीमा दिएको सुन – यी सबै मेरो जीवनका यादहरू हुन्," फारजाना भन्छिन्, "सुन मेरो पहिलो रोजाइ हो।"
सुन, दक्षिण एसियाली संस्कृतिको अभिन्न हिस्सा
दक्षिण एसियाली दुलहीहरूलाई सुनले झनक्कै सजाउने चलन छ – गलैँचा, औंठी, नथ, कपालमा लगाइने गहना र सुनले भरिएका अमूलेट। यी गहनाहरू प्रायः जन्मदेखि नै जम्मा गर्न थालिन्छ – कुनै उपहारका रूपमा, कहिले धार्मिक पर्वका अवसरमा त कहिले जीवनका विशेष मोडहरूमा।
सुन सदियौंदेखि सबैभन्दा सुरक्षित लगानीको रूपमा चिनिन्छ। तर दक्षिण एसियाली परिवारका लागि यो केवल आर्थिक लगानी मात्र होइन, साँस्कृतिक सम्पत्ति पनि हो। धेरैजसो महिलाहरूले आमा वा हजुरआमाबाट पाएका सुनका गहनालाई पुस्तौंपुस्तासम्म सुरक्षित राख्ने परम्परा जोगाउँदै आएका छन्।
२०२५ मा सुनको मूल्यमा अभूतपूर्व वृद्धिः महिलाहरूको लगानी सफल
२०२४ मा २७% ले बढेको सुनको मूल्य २०२५ मा फेरि २६% ले उकालो लागेको छ। अप्रिल महिनामा सुनको मूल्य प्रतिऔंस $३,५०० पार गर्यो, जुन अहिलेसम्मकै उच्च मूल्य हो। यो वृद्धिको फाइदा सर्वाधिक दक्षिण एसियाली महिलाहरूले उठाएका छन् जसले वर्षौं अगाडि सुन किनेका थिए।
"जब मैले यो २४ क्यारेटको नेकलेस किनें, एक ग्राम सुन $१२ मात्र थियो। अहिले $१०० पुगिसक्यो," एक दक्षिण एसियाली आमाले टिकटकमा देखाउँदै भनिन्।

भारतमा सुनको माग उच्च, परिवारको सम्पत्तिको रूपमा हेरिने प्रवृत्ति
विश्व सुन परिषद् अनुसार भारत २०२३ मा चीनपछि सुन गहनाको दोस्रो ठूलो बजार थियो। ६११ टन सुनको गहना खरिद भएको थियो भारतमा मात्र, जुन मध्यपूर्वको २४१ टनको तुलनामा तीन गुणाभन्दा बढी हो। भारतमा हरेक वर्ष करिब ११ देखि १३ लाखवटा बिहे हुने आँकडाले देखाउँछ कि गहनाको माग निकै उच्च छ।
भारतका विश्व सुन परिषद् प्रमुख सचिन जैनका अनुसार, "भारतमा सुन विलासी वस्तु होइन, परिवारको सम्पत्ति हो। यसले मूल्य बढाउँछ, पुस्तादर पुस्ता हस्तान्तरण हुन्छ।"
महिलाहरूका लागि वित्तीय स्वतन्त्रताको माध्यम
दक्षिण एसियामा अझै पनि धेरै महिलाहरू बैंक खाता वा औपचारिक लगानी पहुँचबाट टाढा छन्। यस्तो अवस्थामा सुन नै उनीहरूको सबैभन्दा भरपर्दो वित्तीय सुरक्षा हो। एक सर्वेअनुसार भारतमा आधाभन्दा कम महिलाहरूले आफ्नो वित्तीय निर्णयहरू आफैं गर्छन्।
फारजाना घानी भन्छिन्, "हामी पूर्वी महिलाहरू सधैं आपतकालको लागि पैसा राख्छौं। हामी केवल आजका लागि बाँच्दैनौं, भोलिका लागि तयारी गर्छौं।"
पश्चिमी देशहरूमा पनि सुनप्रतिको आकर्षण बढ्दै

अमेरिकाको व्यापार युद्ध र वित्तीय नीतिको अनिश्चितताले विश्व बजारलाई हल्लाइरहेको अवस्थामा, सुनलगानी सुरक्षित आश्रय बनेको छ। सन् २०२५ को पहिलो त्रैमासमा सुनले १९८६ यता कै सबैभन्दा उच्च प्रतिफल दिएको छ। भारत र चीनका केन्द्रीय बैंकहरूले पनि आफ्नो सुन भण्डार बढाएका छन् – भारतले गत पाँच वर्षमा ३५% ले सुन सञ्चित गरेको छ।
तर, सुनको मूल्य अत्यधिक भए पनि दक्षिण एसियाली उपभोक्ताहरू अझै आफ्नो सुन बेच्न चाहँदैनन्। बरु पुराना गहनाहरूलाई आधुनिक डिजाइनमा फेरबदल गर्दै छन्। नयाँ पुस्ताका उपभोक्ताहरू पनि सुनको मूल्यलाई बुझिरहेका छन् – अब तिनीहरू दैनिक प्रयोग गर्न मिल्ने हल्का गहना खोजिरहेका छन्।
सुन : सम्पत्ति, सौन्दर्य र सशक्तिकरणको प्रतीक
घानीकी छोरीको बिहेमा उनले आफ्नो पुरानो गहना र सिक्कालाई नयाँ ढाँचामा परिवर्तन गरिन् – ताकि उनकी छोरीले त्यसलाई आफ्ना सन्तानलाई पनि दिन सकून्। केही सिक्का छोराका लागि सुरक्षित राखिन्। "छोरीले कृत्रिम गहना लगाउने इच्छा जनाई। तर मैले भनेँ, ‘सुन सबैभन्दा सभ्य, सबैभन्दा शालीन। अरू केही नलगाउ।’"
जब संसारभर आर्थिक अनिश्चितता र बजारको उतारचढाव छ, दक्षिण एसियाली महिलाहरूको सदियौं पुरानो परम्परा – सुनमा लगानी गर्ने – आज सुरक्षित भविष्यको किल्ला साबित भएको छ। यो केवल एक धातु होइन, यो महिलाहरूको सशक्तीकरण, आत्मनिर्भरता र भविष्यको ढोका हो।
(-सिएनएनबाट भावानुवाद गरिएको ।)