-तेज भण्डारी
काठमाण्डौ । नेपालको आर्थिक अवस्थाको घट्दो ग्राफसँगै व्यापार क्षेत्र पनि प्रभावित भएको छ। सरकारी निकायहरुले कागजमा आर्थिक गतिविधि बढेको, मुद्रास्फिति घटेको दाबी गर्दै हरेक महिना रिपोर्टहरु सार्वजनिक गरिरहेका छन् । तर कागजी अर्थतन्त्रमा चमक देखिए पनि वास्तविक अर्थतन्त्रको तस्विरमा पनि निराशाको कालो बादल नै देखिन्छ । कागजमा अर्थतन्त्र चलायमान हुन थालेको समाचार पढेर व्यापार व्यवसाय ठप्पको तीतो अनुभूति सँगाल्दै बस्न बाध्य छन् काठमाण्डौ उपत्यकाका साना व्यापारीहरु ।
विगत केही वर्षदेखि महँगी, कर संरचना, मौद्रिक नीति, र ग्राहकको घट्दो क्रयशक्तिले व्यवसायीहरू संकटको सामना गरिरहेका छन् ।
अरुबेला व्यस्त रहने काठमाण्डौ उपत्यकाका मुख्य बजारहरु हिजोआज शून्यप्राय देखिन्छ । व्यापारी तथा व्यवसायीहरु पहिलाजस्तो ग्राहक नआउँदा ऋण काँडेर सञ्चालन गरेको व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन् भने व्यापार नहुँदा दिनभर हाई काडेर बस्नुपर्ने बाध्यता समेत देखिएको छ ।
काठमाण्डौ उपत्यकामा पछिल्लो समय ग्राउण्ड लेभलका व्यापारी व्यवसायीहरुको पीडा तथा उनीहरुको कारोबारको विषयमा हामीले बुझ्ने कोशिश गरेका छौं । जसअनुसार ४ जना प्रतिनिधि व्यापारीलाई उनीहरुकै व्यवसाय रहेको ठाउँमा भेटेर हामीले व्यापारको अवस्थाको विषयमा बुझ्ने कोशिश गरेका छौं ।
१. दिपेन्द्र श्रेष्ठ – कपडा पसल, असन
१५ वर्षदेखि असनमा कपडाको खुद्रा पसल सञ्चालन गर्दै आएका दिपेन्द्र श्रेष्ठ हाल व्यापारको भारी गिरावटबाट पीडित छन्। व्यापार व्यवसाय सञ्चालनमा आएको मन्दीले दिनभर त्यसै बस्नुपर्ने अवस्था आइलागेको छ ।
“तीन वर्षअघिसम्म ,यसबेला ग्राहक सम्हाल्नै मुश्किल पर्थ्यो,” उनी सम्झिन्छन्, “अहिले दिनमा दुई–चार ग्राहक आए भने पनि ठूलो कुरा जस्तो लाग्न थालेको छ ।”
उनकाअनुसार चीन र बंगलादेशबाट आउने सस्तो कपडाले बजार कब्जा गर्यो, त्यसैमा अनलाइन प्लेटफर्महरूले खुद्रा व्यापारलाई झनै कमजोर बनायो। सरकारी नीतिले व्यापारी थला परेको पीडा त अझ ठूलै छ ।
२. सरस्वती परियार – खुद्रा किराना पसल, चाबहिल
सरस्वती परियारले पाँच वर्षअघि चाबहिलमा किराना पसल खोलिन्। शुरूमा दैनिक आम्दानी राम्रो थियो, तर पछिल्लो दुई वर्षमा करिब ५० प्रतिशतले व्यापार घटेको छ।
“महँगी यति बढेको छ कि ग्राहक १ रुपैयाँ सस्तो खोज्दै ठूला सुपरमार्केटतिर लाग्छन्,” उनी भन्छिन्।
कर्जाको किस्ता तिर्न गाह्रो भएको र चेकहरू बाउन्स हुने स्थितिमा आफू पुगेको उनी दुखेसो गर्छिन्।
३.रमेश माली – मोबाइल पसल, कोटेश्वर
रमेश मालीले २०७३ सालदेखि कोटेश्वरमा मोबाइल र ग्याजेट बिक्री गर्दै आएका छन्। उनी भन्छन्, “पहिले ५०–६० मोबाइल हप्तामा जान्थ्यो, अहिले ५ वटा पनि बिक्दैन।”
उनी व्यवसाय घट्नुलाई बैंकको कर्जा नीतिको कठोरता, अनलाइन प्लेटफर्महरूको प्रतिस्पर्धा, र उपभोक्ताको घट्दो खर्च क्षमतासँग जोड्छन्। यी सबैको पछाडिको मुख्य कारण चाहिँ सुस्त बनेको अर्थतन्त्र र आर्थिक गतिविधिमा छाएको मन्दी नै रहेको उनको जिकिर छ ।
४. सुष्मा शर्मा – बुटिक पसल, ललितपुर
सुष्मा शर्माले आफ्नै डिजाइनमा तयार हुने नेपाली पारम्परिक लुगाको बुटिक खोलेकी थिइन्। सुरुमा विदेशी पर्यटक र विवाह सिजनमा राम्रो व्यापार हुन्थ्यो।
तर कोरोनापछि पर्यटकको आगमन घट्यो, घरेलु बजार पनि सस्तो रेडिमेडतिर मोडियो।
“क्रिएटिभ डिजाइन ग्राहकले बुझ्दैनन्, र ग्राहक हराउँदै जान थाले,” उनी भन्छिन्। अहिले उनले पसल छोट्याएर सानो कोठाबाट काम गरिरहेकी छिन्।
यी चार व्यवसायीको अनुभव नेपालको समग्र व्यवसायिक अवस्थाको झल्को हो। सबैजना परिवर्तनशील बजार, बढ्दो आयात प्रतिस्पर्धा, अनलाइन बजारको दबदबा र वित्तीय व्यवस्थापनको कठिनाइसँग संघर्ष गरिरहेका छन्।
उनीहरूको आवाजले सरकार र नीति निर्माताहरूलाई व्यवसायमैत्री नीति ल्याउनुपर्ने संकेत दिनसक्छ।