काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.६१ प्रतिशत अर्थात १८.४४ अंकले घटेर २ हजार ९६४.२० विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८४ प्रतिशतले घटेर ५१२.७६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता सेयर २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आज इन्ट्रा डे कारोबारमा नेप्से परिसूचक ३ हजार विन्दुमाथि पुगेको थियो । तर अन्तिम समयसम्म भने त्यो नेप्से परिसूचक ३ हजार विन्दुमाथि टिक्न भने सकेन ।
आजको बजारबारे प्राविधिक विश्लेषक सुवासचन्द्र ढुङ्गाना भन्छन्, ‘लगानीकर्ताले नाफा बुक गर्दा बजारले मनौवैज्ञानिक विन्दुमा परीक्षण गरेको हो । आजको दिनभनरको बजारलाई नियाल्दा पहिलो दुई घण्टममा खरिद र अन्तिमको दुई घण्टामा बिक्री दबाब परेको देखिन्छ । यो भनेको बुलभित्रकै करेक्सन हो । ’
उनले अहिले बुल सकिसकेको भन्न नमिल्ने समेत बताए । प्राविधिक रुपमा पनि बजारले अब २९४८ र २९ सयको विन्दुमा बिलयो सपोर्ट लिनसक्ने र आजको करेक्सनले बजार थप मजबुत रहेको उनले बताए ।
अर्का बजार जानकार दामोदर गजुरेलले आजको बजारको घटाईलाई स्वभाविक करक्सन भएको बताए । ‘आधारभूत तथा प्राविधिक रुपमा ३ हजारको मनोवैज्ञानिक विन्दुमा प्रतिरोध सामना गरेको छ । प्राविधिक रुपमा पनि बुल प्याटर्न भित्रकै करेक्सन रहेको छ । आज बजारमा अल्पकालिन लगानीकर्ता हाबी देखिए,’ उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो पोतियो । व्यापार समूह आज सर्वाधिक बढ्यो । यो समूह आज १.२९ प्रतिशतले बढ्यो । विकास बैंक समूह पनि आज १.०६ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.८८ र म्युचुअल फण्ड समूह ०.५४ प्रतिशतले बढ्यो ।
आज फाइनान्स समूहमा उच्च गिरावट देखियो । फाइनान्स समूह २.२२ प्रतिशतले घट्यो । यस्तै बैंकिङ सर्मूह ०.९१ प्रतिशत, होटल १.९१, हाईड्रो १.३३, लगानी १.९२, जीवन बीमा १.५५, लघुवित्त ०.१८, निर्जीवन ०.७४ र अन्य ०.९६ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १ अर्ब २ करोड बढीको सेयर कारोबार भयो । ङादी ग्रुप पावरको पनि आज ८८ करोड ९० लाख, नेपाल पुनर्बीमा कम्पनीको ८५ करोड २ लाख, कालिका पावरको ८४ करोड ६५ लाख र ग्रीन भेन्चर कम्पनीको ७६ करोड ६ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । समता घरेलु लघुवित्त, ट्रेड टावर र सान्भी इनर्जीको सेयरमूल्यमा आज अपर सर्किट लाग्यो ।
लुम्बिनी विकास बैंकको सेयरमूल्य आज ८.४७ प्रतिशत, ग्रीन भेन्चरको ६.२९ र सगरमाथा जलविद्युतको सेयरमूल्य ६ प्रतिशतले बढ्यो ।
नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक घट्यो । यो बैंकको सेयरमूल्य ६.३४ प्रतिशतले खस्कियो । राप्ती हाईड्रोको सेयरमूल्य पनि आज ४.९९ प्रतिशत र बुटवल पावरको सेयरमूल्य ४.११ प्रतिशतले घट्यो ।