काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.०६ प्रतिशत अर्थात १.९४ अंकले घटेर २ हजार ८३२.०६ विन्दुमा झरेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ०.१८ प्रतिशतले घटेर ४८७.५५ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता सेयर ७ अर्ब ६३ करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
अघिल्लो दिन भने ९ अर्ब ३३ करोड बढीको कारोबार भएको थियो । पछिल्लो समय सेयर बजारमा कारोबार रकम निरन्तर घटिरहेको छ ।
आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘भोल्युम विस्तारै ड्राई भएका कारण बजार बिस्तारै घट्न रोकिन सुरु भएको छ । अब लाभांशको सिजन समेत सुरु हुन लागेकाले १० भन्दा बढी बैंक तथा वित्तीय संस्था राम्रो लाभांश दिनसक्ने अवस्थामा छन् । यही कारण अहिले संस्थागत लगानीकर्ताले सेयर एक्युमुलेशन गरेको हुन सक्छ ।’
बैंक तथा वित्तीय संस्थाको रिपोर्ट सार्वजनिक हुँदै जादा बजारले गति लिनेमा उनी ढुक्क देखिए ।
अर्का बजार जानकार पर्वत विष्टले बजार जसरी बढ्यो त्यसरी नै घटेको बताए । ‘आजबाट भोल्युम ड्राई हुँदै गएको छ । यसका साथै नाफा बुक पनि सकिएको छ । यही कारण बजार अब सम्हालिने अवस्थामा पुगेको छ,’ उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा हरियाली छायो भने ८ वटा समूहमा रातो पोतियो । लघुवित्त समूह आज सर्वाधिक अर्थात १.३४ प्रतिशतले बढ्यो । लगानी समूह पनि आज ०.५३ प्रतिशत,अन्य ०.६३ र व्यापार समूह ०.२२ प्रतिशतले बढ्यो ।
जीवन बीमा समूह आज सर्वाधिक अर्थात ०.३९ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.३२ प्रतिशत, विकास बैंक ०.३६, फाइनान्स ०.३१, होटल ०.०९, हाईड्रो ०.०४, उत्पादन तथा प्रशोधन ०.०४ र निर्जीवन बीमा समूह ०.२४ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज २९ करोड ४५ लाख बढीको सेयर कारोबार भयो । हिमालयन रि इन्स्योरेन्सको पनि आज २८ करोड २ लाख, शिवम् सिमेन्टको २४ करोड १९ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको २३ करोड ८४ लाख र बलेफि हाईड्रोको २३ करोड २० लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज विन नेपाल लघुवित्त,महुली लघुवित्त र ट्रेड टावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
समाज लघुवित्तको सेयरमूल्य पनि आज ७.९३ प्रतिशत, स्वाभिमान लघुवित्तको ७.८३ र सिवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ६.५८ प्रतिशतले बढ्यो ।
थ्री स्टार हाईड्रोको सेयरमूल्यमा आज सर्वाधिक गिरावट आयो । यो कम्पनीको सेयरमूल्य आज ३.७८ प्रतिशतले घट्यो । समता घरेलु लघुवित्तको सेयरमूल्य पनि आज २.७२ प्रतिशत र युनिभिलर नेपालको सेयरमूल्य २.७१ प्रतिशतले घट्यो ।