काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख इमाकुलाडा रियरा रेने (Inmaculada Riera Rene) बीच महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ ।
उक्त भेटवार्तामा दुई देशबीचको आर्थिक सहकार्य, व्यापार, लगानी, साना तथा मझौला उद्यम र दीर्घकालीन साझेदारीका विषयमा छलफल भएको थियो ।
सो अवसरमा मभहासंघका अध्यक्ष ढकालले नेपाल–स्पेन सम्बन्धलाई निजी क्षेत्रमार्फत अझ मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याउँदै स्पेनसँग सहकार्य गरी नेपाली बजारमा प्रविधि, पुँजी र अनुभव भित्रयाउन सकिने बताउनु भयो । अध्यक्ष ढकालले त्यसका लागि निजी क्षेत्र पूर्णरूपमा तयार रहेका धारणा राखे ।
स्पेन चेम्बर अफ कमर्ससँगको प्रस्तावित समझदारीपत्रको प्रारम्भिक मस्यौदा प्रति आभार व्यक्त गर्दै अध्यक्ष ढकालले त्यसले साझा दृष्टिकोण र दीर्घकालीन सम्बन्धका लागि आधारशिला बनाउने विश्वास व्यक्त गरे । साथै उनले समझदारीपत्रको विस्तृत अध्ययनपछि छिट्टै दुवै पक्षले हस्ताक्षर गर्ने प्रतिवद्धता जनाए ।
“प्रस्तावित यो समझदारीपत्रमा व्यापार प्रवद्र्धन, लगानी, बजारसम्बन्धी जानकारी आदानप्रदान, प्रतिनिधिमण्डलको सहयोग, र साना तथा मझौला उद्योगहरु बीच सहकार्यजस्ता व्यावहारिक पक्ष समेटिएका छन्, जुन सकारात्मक छन् । ,” उनले भने ।
यस्तै उनले संयुक्त लगानी, प्राविधिक सहकार्य, र ज्ञान साझेदारीका लागि समझदारीपत्र एक सशक्त प्लेटफर्म बन्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष ढकालले स्पेनिश व्यवसायहरूलाई नेपालबारे बुझ्न सजिलो हुने र नेपाली व्यवसायीहरूका लागि स्पेनलाई युरोप प्रवेशको ढोका बनाउने आधार यस समझदारीपत्रले तयार पार्ने उल्लेख गरे ।
उनले साना तथा मझौला उद्योगहरुको भूमिकालाई विशेष रूपमा उल्लेख गर्दै नेपाल–स्पेन दुवै देशमा यी उद्यमहरू अर्थतन्त्रको मेरुदण्ड भएको बताए ।
नेपालमा धेरै सकारात्मक नीतिगत परिवर्तनहरू भएको उल्लेख गर्दै उहाँले यी परिवर्तनले नेपालमा बाह्य लगानीको लागि प्रशस्त अवसरहरु सिर्जना गरेको जानकारी दिए। उनले पर्यटन, पूर्वाधार, जलविद्युत, नवीकरणीय ऊर्जा, कृषि प्रशोधन, र सूचना प्रविधिजस्ता क्षेत्रमा स्पेनिश लगानीको ठूलो सम्भावना रहेको बताए ।
स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख इमाकुलाडा रियरा रेने रियराले नेपालमा लगानीको सम्भावना अत्यन्त आकर्षक रहेको बताउँदै व्यापारिक सहकार्य सशक्त बनाउन इच्छुक रहेको धारणा राखिन् । उनले पर्यटन, प्रविधि, कृषि, नवीकरणीय ऊर्जा र पूर्वाधारमा सम्भाव्यता रहेको उल्लेख गरिन् ।
यस्तै उनले महासंघसंग हुने समझदारीले नेपाल र स्पेनबीचको निजी क्षेत्रीय समन्वय र विश्वासलाई नयाँ उचाइमा पुर्याउने धारणा राखिन् ।
भेटका क्रममा दुवै पक्षले आपसी आर्थिक सम्बन्धलाई थप गहिरो बनाउन संयुक्त पहल आवश्यक रहेको र साझा कार्यक्रम तथा सहकार्यबाट व्यवसायिक समुदायहरू लाभान्वित हुनेमा विश्वास व्यक्त गरेका थिए ।
भेटवार्ताका अवसरमा महासंघका पूर्व अध्यक्ष चन्डिराज ढकाल, महासंघका कोषाध्यक्ष भरतराज आचार्यको पनि सहभागिता थियो । गत जुन महिनामा स्पेनमा आयोजित कार्यक्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सहितको टोलीमा सम्मिलित रहँदा महासंघका अध्यक्ष ढकालले स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख रिएरालाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।