काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो महिनामा २४ अर्ब रुपैयाँ बढीको प्रत्यक्ष वैदेशिक लगानी(एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार साउनमा दर्ता भएका १२७ परियोजनामार्फत २४ अर्ब १० करोड ४९ लाख ९५ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको हो ।
यी परियोजनामार्फत ८ हजार २सयभन्दा बढीले रोजगारी पाउने बताइएको छ । साउनमा कृषिका तीन परियोजनामार्फत २० अर्ब ४५ करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।
त्यस्तै पर्यटनका ४१ वटा परियोजनामा ३ अर्ब रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ । यस्तै आठ सेवामूलक परियोजनामा ३३ करोड ५० लाख र ७१ वटा सूचना प्रविधि मुलुक परियोजनामा ३६ करोड ५२ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।
विभागका अनुसार ऊर्जा क्षेत्रमा १८ करोड ४२ लाख र उत्पादनमूलक क्षेत्रमा १५ करोड ५० लाख रुपैयाँको विदेशी लगानी प्रतिबद्धता आएको छ ।