काठमाण्डौ । नेपाल टेलिकमले हाल वितरण गरिरहेको फाइबर टु द होम (एफटीटीएच) प्रविधिको इन्टरनेटलाई अझै गुणस्तरीय बनाउन वाइफाई ६ राउटर (सीपीई) र एपी उपलब्ध गराउने भएको छ । यस अनुसार अब वाइफाई ६ प्याकेज अन्तर्गत न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच वितरण हुने टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमले पहिले वाइफाई ५ प्रविधिको सीपीई उपलब्ध गराइरहेकोमा अब वाइफाई ६ प्रविधिको सीपीईका साथै पहिलो पटक एपी समेत उपलब्ध गराउने भएको हो । नयाँ प्रविधिका यी उपकरण प्रयोग गर्दा विभिन्न स्थानमा वाइफाई सिग्नल पर्याप्त नहुने समस्याको समाधान हुनेछ भने इन्टरनेटको स्पिड पनि तीव्र हुनेछ ।
धेरै डिभाइसहरु कनेक्ट गर्न, सबैले फुल स्पिडमा इन्टरनेट चलाउन, डाटा ट्रान्सफर छिटो गर्न, डिभाइसको ब्याट्री लाइफ बढाउन र सुरक्षित तथा भरपर्दो इन्टरनेट सेवाका लागि यसले महत्वपूर्ण भूमिका खेल्नेछ ।
ग्राहकहरुका लागि वाइफाई ६ इन्डिभिजुअल प्याकेज र प्रिमियम प्याकेज उपलब्ध हुनेछ । इन्डिभिजुअल प्याकेज अन्तर्गत १. इन्टरनेट र टेलिफोन प्याकेज, २. इन्टरेनट, बेसिक एनटीटीभी र टेलिफोन प्याकेज र ३. इन्टरनेट, प्रिमियम एनटीटीभी र टेलिफोन प्याकेज मध्ये कुनै एक प्याकेज रोज्न सकिने छ ।
त्यसैगरी, प्रिमियम प्याकेज अन्तर्गत १. प्रिमियम इन्टरनेट प्याकेज वान्ली, २. प्रिमियम इन्टरनेट र बेसिक एनटीटीभी प्याकेज र ३. प्रिमियम इन्टरनेट र प्रिमियम एनटीटीभी मध्ये कुनै एक प्याकेज रोज्न सकिने छ । यी सबै प्याकेज १००, १५० र २०० एमबीपीएस क्षमताका हुनेछन् भने मोबाइलमा डाटा समेत उपलब्ध हुनेछ ।
नेपाल टेलिकमले उपलब्ध गराउने वाइफाई ६ प्रविधिको सीपीई र एपी तथा एफटीटीएचको नयाँ दररेट र अन्य जानकारी लिन नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर्न सकिन्छ । त्यसैगरी ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट पनि विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

