काठमाण्डौ । भदौ २३ र २४ का घटनासम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक १३ दिनपछि हिरासत मुक्त भएका छन्। दुवैलाई अनुसन्धानका क्रममा आवश्यक परे हाजिर हुने शर्तमा पत्नीहरूको जिम्मा लगाएर रिहा गरिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, पूर्वप्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालमा उपचाररत अवस्थामै उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाएर छाडिएको हो। स्वास्थ्य अवस्था सुधार भएसँगै अस्पतालबाट डिस्चार्ज गर्ने विषयमा भने चिकित्सकहरूले निर्णय गर्ने जनाइएको छ।
त्यसैगरी, पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट रिहा गरी उनकी पत्नी यशोदा लेखकको जिम्मा लगाइएको छ। उनी चैत १४ देखि सो गणमा राखिएका थिए।
मन्त्रिपरिषद्ले भदौ २३ र २४ को घटनाबारे गौरीबहादुर कार्की आयोग ले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेपछि दुवै नेतालाई प्रहरीले पक्राउ गरेको थियो। आयोगले उक्त घटनामा फौजदारी अनुसन्धान अघि बढाउन सिफारिस गरेको थियो।
प्रहरीका अनुसार, दुवैलाई अनुसन्धानको आवश्यकताअनुसार जुनसुकै बेला उपस्थित हुने सर्तमा रिहा गरिएको हो। यससँगै बहुचर्चित उक्त घटनाको अनुसन्धान भने अझै जारी रहेको जनाइएको छ।

