काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले उपसभामुखमा सहयोग गर्ने वाचा गरेर पनि रास्वपाले अन्ततः धोका दिएको भन्दै असन्तुष्ट व्यक्त गरेका छन् ।
रास्वपाले नै उपसभामुख पदका लागि आफूलाई अघि सार्न आग्रह गरेपछि उनले उम्मेदवारी दिने निर्णय गरेको बताए । तर पछि रास्वपाले नै अर्कै उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि उनी असन्तुष्ट बनेका हुन् ।
उनले उपसभामुख पद आफ्नो प्राथमिकता नभए पनि संसद्को सबैभन्दा ठूलो दलबाट प्रस्ताव आएको कारण पुराना राजनीतिक दल र परिवर्तनको पक्षमा रहेका नयाँ शक्तिहरूबीच ध्रुवीकरण हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै उम्मेदवारी दिएको बताएका छन् ।
पछिल्लो अवस्थामा रास्वपा पुराना दलहरूसँगै उभिएको उनले आरोप लगाए । यस घटनाले राजनीतिमा स्पष्ट ध्रुवीकरण देखाएको र नयाँ तथा पुराना दलका नाम फरक भए पनि तिनका विचार र नीतिमा खासै अन्तर नभएको प्रमाणित भएको उनले बताए ।

