काठमाण्डौ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री तथा सांसद सोविता गौतमले प्रधानमन्त्री कार्यालयमा बुझाएको सम्पत्ति विवरण सार्वजनिक भएको छ। विवरण अनुसार उनको सम्पत्ति संरचना सुन, नगद, सेयर, जग्गा, सवारीसाधन तथा ऋणसमेत समेटिएको देखिन्छ।
मन्त्री गौतमसँग करिब १५ तोला सुन रहेको उल्लेख छ। यसमध्ये १० तोला विवाहमार्फत प्राप्त भएको र ५ तोला पैतृक स्रोतबाट आएको जनाइएको छ। साथै ९ तोला चाँदी र १ तोला हिरा पनि सम्पत्तिमा समावेश गरिएको छ।
विभिन्न बैंक खातामा राखिएको रकम पनि विवरणमा समेटिएको छ। एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, माछापुच्छ्रे बैंक र ग्लोबल आईएमई बैंकमा गरेर करिब १० लाख रुपैयाँभन्दा कम मौज्दात रहेको देखिन्छ।
सेयरतर्फ ग्लोबल हिमालय ट्रक एन्ड ट्रेड्समा ५० प्रतिशत स्वामित्व तथा सोपन मल्टीपल कम्पनीमा ६,५०० कित्ता सेयर रहेको विवरणमा उल्लेख छ।
चितवनको भरतपुर महानगरपालिकामा रहेको ६७७ वर्गमिटर जग्गा सासू–ससुराको नाममा रहेको पैतृक सम्पत्ति भएको विवरणमा उल्लेख गरिएको छ।
सवारीसाधनतर्फ मन्त्री गौतमसँग करिब २६ लाख रुपैयाँको गाडी रहेको छ। साथै गाडी खरिदका लागि राष्ट्रिय वाणिज्य बैंक र एभरेस्ट बैंकबाट ऋण लिइएको जनाइएको छ।
यसैबीच, उनका श्रीमान् गृहेन्द्र घिमिरे को नाममा ९५ लाख रुपैयाँ मूल्य बराबरको गाडी रहेको उल्लेख छ, जुन ऋण र तलबबाट खरिद गरिएको विवरणमा देखाइएको छ। साथै २ लाख ७५ हजार रुपैयाँ मूल्यको स्कुटर पनि सम्पत्तिमा समावेश छ।

