काठमाण्डौ । डोनाल्ड ट्रम्पले इरानसँग सकारात्मक रचनात्मक वार्ता भइरहेको दाबी गरेका छन्। शनिबार ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले इरानसँग संवाद जारी रहे पनि रणनीतिक मार्गहरू प्रयोग गरेर अमेरिकामाथि दबाब सिर्जना गर्ने कुनै प्रयास स्वीकार नगर्ने स्पष्ट पारे।
ट्रम्पले विशेषगरी स्ट्रेट अफ हर्मुजको सन्दर्भ उल्लेख गर्दै उक्त क्षेत्रमार्फत हुने अन्तर्राष्ट्रिय तेल आपूर्तिमा अवरोध पुर्याएर ब्ल्याकमेल गर्ने प्रयासलाई अस्वीकार्य बताएका हुन्। हालै इरानी सञ्चारमाध्यमहरूमा सो जलमार्ग बन्द हुन सक्ने आशंकासम्बन्धी समाचार सार्वजनिक भएपछि केही अन्तर्राष्ट्रिय जहाजहरूले वैकल्पिक मार्ग अपनाउन थालेका छन्।
यता इरानका उप–विदेशमन्त्री सईद खातिबजादेह ले भने अमेरिका–इरानबीचको प्रत्यक्ष वार्ताको अर्को चरण तत्काल अघि नबढ्ने संकेत दिएका छन्। उनका अनुसार अमेरिका आफ्नो कडा सर्तहरूबाट पछि हट्न तयार नभएसम्म नयाँ चरणको संवाद सम्भव नहुने देखिएको छ।
हालको अवस्था हेर्दा दुवै पक्षबीच संवादको सम्भावना कायम रहे पनि आपसी अविश्वास र कडा अडानका कारण सम्बन्धमा अनिश्चितता कायमै रहेको विश्लेषकहरू बताउँछन्।

