काठमाण्डौ । नेपाल अटोमोबाइल व्यवसायको सबैभन्दा ठूलो प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आगामी भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै प्रदर्शनीका लागि स्टल बुकिङ खुला गरिएको जानकारी दिएको हो।
नाडाका अनुसार अटो शोका लागि स्टल बुकिङ जेठ १८ गतेदेखि २६ गतेसम्म खुला रहनेछ। यो प्रदर्शनी नाडाले आयोजना गर्न लागेको १८औँ संस्करण हो।
नाडा अटो शोमा सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा तथा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्था र व्यवसायिक प्रतिष्ठानहरूको सहभागिता रहनेछ। प्रदर्शनीले नेपालका अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक तथा सेवा प्रदायकहरूलाई आफ्ना नवीनतम उत्पादन, प्रविधि र सेवाहरू सार्वजनिक गर्ने अवसर प्रदान गर्ने नाडाको विश्वास छ।
हरेक वर्षझैँ यसपटक पनि हजारौं सर्वसाधारण, अटोमोबाइल व्यवसायी, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था र सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
नाडाले स्टल बुकिङ, आवेदन प्रक्रिया, शुल्क तथा अन्य आवश्यक जानकारी व्यवस्थापक कम्पनीमार्फत प्राप्त गर्न सकिने जनाएको छ। साथै इच्छुक कम्पनी तथा संस्थाहरूलाई समयमै स्टल सुनिश्चित गरी प्रदर्शनीमा सहभागी हुन आग्रह गरेको छ।
नेपालको अटोमोबाइल बजार विद्युतीय सवारीसाधन (ईभी) तर्फ तीव्र रूपमा आकर्षित भइरहेका बेला आयोजना हुन लागेको नाडा अटो शो २०२६ लाई नयाँ प्रविधि, नयाँ ब्रान्ड र नयाँ व्यवसायिक अवसरहरूको प्रदर्शन गर्ने महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ।

