काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनाल आजदेखि भारतको औपचारिक भ्रमणमा जादैछन्। उनी आफ्ना भारतीय समकक्षी एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा जान लागेका हुन् ।
नेपालको परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार मन्त्री खनालको भ्रमण आजदेखि सुरु भई आइतबार सम्पन्न हुनेछ। भ्रमणका क्रममा उहाँले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. जयशङ्करसँग औपचारिक भेटवार्ता गर्नेछन् ।
भेटवार्तामा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा जनस्तरका सम्बन्धलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल हुने जनाइएको छ। दुवै पक्षले आपसी हित र साझा चासोका विषयमा विचार आदानप्रदान गर्दै सहकार्यका नयाँ सम्भावनाहरूको खोजी गर्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।
उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानअन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल–भारतबीचको दीर्घकालीन, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास गरिएको छ। परराष्ट्रमन्त्री खनाल जेठ २४ गते स्वदेश फर्किनेछन् ।

