काठमाण्डौं । परराष्ट्र मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत १३ मुलुकका लागि राजदूत छनोट गर्ने प्रक्रिया अघि बढाएसँगै ठूलो संख्यामा आवेदन परेको छ ।
मन्त्रालयका अनुसार करिब तीन हजार आवेदकबाट झन्डै चार हजार दरखास्त प्राप्त भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार एउटै व्यक्तिले एकभन्दा बढी देशका लागि आवेदन दिएका कारण कुल आवेदन संख्या बढेको हो ।
करिब तीन हजार व्यक्तिबाट झन्डै चार हजार आवेदन आएका छन् । केहीले त फरक–फरक देशका लागि छुट्टाछुट्टै आवेदन दिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जेठ १४ गते सूचना जारी गर्दै लामो समयदेखि रिक्त रहेका १३ देशका राजदूत पदका लागि आवेदन खुला गरेको थियो ।
खुला गरिएका देशहरूमा अमेरिका, चीन, भारत, अस्ट्रेलिया, बेलायत, साउदी अरेबिया, बंगलादेश, इजरायल, ओमान, दक्षिण कोरिया, मलेसिया, बहराइन र अस्ट्रिया रहेका छन् ।
उक्त आवेदन प्रक्रिया अन्तर्गत अन्तिम मिति २०८३ जेठ २२ गते साँझ ५ बजेसम्म तोकिएको थियो ।
सो समयसीमाभित्र करिब चार हजार आवेदन दर्ता भएको मन्त्रालयले जनाएको छ ।
केही उम्मेदवारले एकैपटक १० वटा देशका लागि आफू योग्य रहेको दाबी गर्दै आवेदन दिएको पनि देखिएको छ ।
यो प्रक्रिया नेपालको कूटनीतिक इतिहासमा विशेष मानिन्छ, किनकि पहिलोपटक राजदूत नियुक्तिका लागि खुला आवेदन प्रणाली अपनाइएको हो ।
यसअघि राजनीतिक नियुक्तिमा सीमित रहने राजदूत पदका लागि यसपटक पारदर्शिता र प्रतिस्पर्धालाई जोड दिइएको छ ।
आवेदन प्रक्रिया केवल व्यक्तिगत रूपमा मात्र नभई अन्य व्यक्ति वा निकायले पनि योग्य उम्मेदवारको नाम सिफारिस गर्न सक्ने गरी खुला राखिएको थियो ।
यसले योग्य व्यक्तिहरूको दायरा अझ फराकिलो बनाएको मन्त्रालयको भनाइ छ ।
तर, निर्धारित समयसीमा नाघेर आएका वा आवश्यक कागजात तथा प्रक्रिया पूरा नगरेका आवेदनहरू छनोट प्रक्रियामा समावेश नगरिने स्पष्ट गरिएको छ ।
प्राप्त सबै आवेदन र सिफारिसहरूको प्रारम्भिक अध्ययनपछि योग्यता र उपयुक्तताका आधारमा सर्टलिस्ट तयार गरिनेछ ।
त्यसपछि सर्टलिस्टमा परेका उम्मेदवारहरूलाई मात्र आगामी चरणका लागि सम्पर्क गरिने मन्त्रालयले जनाएको छ ।
राजदूत छनोटका लागि परराष्ट्र मन्त्रालयले ‘टर्म्स अफ रेफरेन्स (टीओआर)’ अन्तर्गत १५ बुँदे न्यूनतम योग्यता निर्धारण गरेको छ, जसले योग्यताको स्पष्ट मापदण्ड तय गरेको छ ।
उक्त मापदण्डअनुसार उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, कम्तीमा ३५ वर्ष उमेर पूरा भएको हुनुपर्ने तथा मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने अनिवार्य छ ।
सरकारी सेवाबाट बर्खास्त भएका वा भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिएका व्यक्तिहरूलाई राजदूत बन्न प्रतिबन्ध लगाइएको छ ।
साथै विदेशमा स्थायी वा अस्थायी बसोबास अनुमति लिएका व्यक्तिहरू पनि अयोग्य मानिनेछन् ।
भ्रष्टाचार, नैतिक पतन वा आपराधिक गतिविधिमा अदालतबाट दोषी ठहर भएका व्यक्तिहरू पनि योग्य सूचीबाट बाहिर रहनेछन् ।
यसका साथै विदेश नीति, कूटनीति वा अन्तर्राष्ट्रिय सम्बन्धमा अनुभव भएको र नेपालको प्रतिनिधित्व गर्न सक्षम व्यक्ति मात्र छनोट प्रक्रियामा योग्य ठहरिनेछन् ।
भाषागत दक्षतालाई पनि महत्त्व दिइएको छ ।
अंग्रेजी भाषामा राम्रो ज्ञान अनिवार्य गरिएको छ भने सम्बन्धित मुलुकको स्थानीय भाषा जानेको भए अतिरिक्त लाभ मानिनेछ ।
राजदूत बन्ने उम्मेदवारको प्रस्तावित देशसँग कुनै किसिमको स्वार्थको द्वन्द्व हुनु नहुने स्पष्ट गरिएको छ ।
साथै गैरसरकारी संस्थामा हाल कार्यरत व्यक्ति पनि अयोग्य हुनेछन् ।
उच्च नैतिक चरित्र, व्यावसायिक इमानदारी, र कठिन परिस्थितिमा काम गर्न सक्ने क्षमता पनि आवश्यक योग्यता मानिएको छ ।
साथै कुनै अन्तर्राष्ट्रिय वा सरकारी कालोसूचीमा नपरेको हुनुपर्ने व्यवस्था छ ।
पूर्वमा कुनै विदेशी सरकारको तलबभुक्त पदमा रहेका व्यक्तिले राजदूत बन्न कम्तीमा १० वर्षको अन्तराल पूरा गरेको हुनुपर्नेछ ।
साथै कूटनीतिक अभ्यास, भियना महासन्धि तथा अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी आधारभूत ज्ञानलाई समेत महत्वपूर्ण मानिएको मन्त्रालयले जनाएको छ ।

