काठमाण्डौ । अमेरिकी डलरको तीव्र मजबुती र अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको कडा मौद्रिक नीति संकेतका कारण सुनको मूल्य लगातार दबाबमा परेको छ। शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १.८९ प्रतिशत अर्थात ८० डलरले घट्दै प्रतिऔंस ४ हजार १४५ डलरमा झरेको छ । यससँगै सुनको भाउ लगातार तेस्रो साप्ताहिक गिरावटतर्फ अग्रसर भएको छ ।
अमेरिकी डलर एक वर्षयताकै उच्च स्तरमा पुगेपछि अन्य मुद्रामा कारोबार गर्ने लगानीकर्ताका लागि सुन महँगो भएको छ। यसले माग घटाउँदै सुनको मूल्यमा थप दबाब सिर्जना गरेको विश्लेषकहरूले बताएका छन्।
बजारमा अहिले अमेरिकी केन्द्रीय बैंकले निकट भविष्यमा ब्याजदर बढाउन सक्ने अपेक्षा तीव्र भएको छ। पछिल्लो अनुमान अनुसार करिब ८७ प्रतिशत व्यापारीहरूले डिसेम्बरमा दर वृद्धि हुने सम्भावना देखाएका छन्। ब्याजदर बढ्दा ब्याज नदिने सम्पत्ति भएकाले सुनको आकर्षण घट्ने गर्छ।
अमेरिका–इरान सम्बन्धमा भएको अस्थायी कूटनीतिक प्रगतिले सुरुमा बजारमा सकारात्मक प्रभाव पारे पनि त्यसको असर छोटो समयमै कमजोर भएको देखिएको छ। लगानीकर्ताहरू अहिले मुख्य रूपमा मौद्रिक नीतितर्फ केन्द्रित छन्।
यस्तै आज चाँदीको भाउ समेत ३.४५ प्रतिशत अर्थात २.२५ डलरले घट्दै प्रतिऔंस ६३.९५ डलरमा सीमित भएको छ ।

