काठमाण्डौ । दक्षिणी लेबनानमा भएको श्रृंखलाबद्ध इजरायली हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सोही समयमा इजरायली सेनाले आफ्ना चार सैनिक मारिएको पुष्टि गरेको छ।
इजरायली रक्षा बलले लेबनानमा सक्रिय इरान समर्थित समूह हिज्बुल्लाहसँग सम्बन्धित करिब ८० लक्ष्यमा आक्रमण गरेको बताउँदै दर्जनौं लडाकुहरू मारिएको दाबी गरेको छ।
हिज्बुल्लाहले दक्षिणी लेबनानमा इजरायली सैन्य समूहमाथि घात लगाएर आक्रमण गरेको र तीन वटा ट्याङ्क नष्ट गरेको दाबी गरेको छ। साथै, रकेट तथा तोपखाना आक्रमणमार्फत इजरायली सेनालाई लक्षित गरिएको बताइएको छ।
यो घटनाक्रम संयुक्त राज्य अमेरिका र इरानबीच हालै भएको युद्धविराम सम्झौताको एक दिनपछि भएको हो। उक्त सम्झौताले लेबनानसहित मध्यपूर्वमा शत्रुता अन्त्य गर्ने लक्ष्य राखेको थियो। तर इजरायल र हिज्बुल्लाहबीच आक्रमणहरू निरन्तर जारी रहँदा युद्धविरामको भविष्यबारे प्रश्न उठेको छ।
इजरायलले भने लेबनानबाट आफ्ना सेना फिर्ता नलिने अडान दोहोर्याउँदै हिज्बुल्लाहसँगको संघर्षलाई इरानसँगको युद्धभन्दा अलग विषय भएको बताएको छ। जरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले चार सैनिकको मृत्युप्रति समवेदना व्यक्त गर्दै हिज्बुल्लाहमाथि पूर्ण शक्तिका साथ प्रतिकार गर्ने निर्देशन दिएको बताएका छन्।
त्यस्तै, लेबनानमा भएको विनाशप्रति अन्तर्राष्ट्रिय समुदायबाट चिन्ता व्यक्त गरिएको छ। फ्रान्सका विदेशमन्त्रीले इजरायललाई युद्धविराम सम्झौताको पालना गर्न आग्रह गरेका छन्। अमेरिकी पक्षबाट पनि क्षेत्रीय तनाव कम गर्न कूटनीतिक प्रयास जारी रहेको जनाइएको छ, यद्यपि वार्ता प्रक्रियामा ढिलाइ भएको बताइएको छ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला महिनामा जारी संघर्षका क्रममा हजारौँ मानिस मारिएका छन् भने लाखौँ विस्थापित भएका छन्। दक्षिणी लेबनानका धेरै बस्तीहरू व्यापक रूपमा क्षतिग्रस्त भएका छन्।

