काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजार सामान्य अंकले बढेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.६० प्रतिशत अर्थात १.६३ अंकले बढेर २ हजार ७०२.११ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०६ प्रतिशतले बढेर ४६३.९८ विन्दुमा पुगेको छ।
आज नेप्सेमा सूचीकृत ३५३ वटा स्क्रिप्टको १ करोड ९ लाख २२ हजार ५२५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ५३ करोड ४९ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ३ अर्ब ४१ करोड ४८ लाख बढीको सेयर कारोबार भएको थियो।
आजको बजारबारे बजार जानकार बिरेन्द्र विष्ट भन्छन्, ‘अहिले सेयर लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा नै छन् । अर्थमन्त्रीले आज मात्रै सेयर बजार र बीमा बजारको विषयमा बोल्नुभएको छ । बीमा क्षेत्रबाट एक खर्ब भन्दा बढीको रकम अपचलन भएको कुरालाई अर्थमन्त्रीले गम्भीरताका साथ लिनुभएको बताउनुभएको छ । साथै सेयरबजारमा समेत ठूला लगानीकर्ताहरुको कारोबारमा सरकारले अनुसन्धान गरिरहेको कुराले अन्य लगानीकर्तालाई समेत त्रसित बनाएको छ । निष्पक्ष ढंगबाट सेयर कारोबार गर्नेहरु त्रसित हुन वा डराउनुपर्ने कुनै कारण छैन ।’
उनले भने, ‘तर अहिले अधिकांश लगानीकर्ताहरुमा मनोबल उच्च नभएको अवस्था छ, यस्तो अवस्थामा अर्थमन्त्रीले आम लगानीकर्ताको मनोबल बढाउन नीतिगत कुराहरु अवलम्बन गर्नुपर्दछ । यदि केही नीति संशोधन गर्नुपरे पनि त्यसबारेमा अर्थमन्त्रीले सोच्नुपर्छ । केही समयसम्म बजार यस्तै हुने सक्ने देखिन्छ, तर सरकारबाटै लगानीकर्ताको मनोबल उकास्ने कार्य भएमा बजार २९ सय भन्दा माथि जाने सम्भावना छ ।’
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छायो भने ६ वटामा रातो पोतियो । आज व्यापार समूह सर्वाधिक अर्थात ०.७५ प्रतिशतले बढ्यो । यस्तै फाइनान्स समूह ०.६६ प्रतिशत, हाईड्रो ०.०९, लगानी ०.११, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.२४ र लघुवित्त ०.०२ प्रतिशतले बढ्यो ।
यो दिन म्युचुअल फण्ड समूह सर्वाधिक अर्थात ०.४९ प्रतिशतले घट्यो । यस्तै विकास बैंक समूह ०.१३ प्रतिशत, होटल ०.३१, निर्जीवन बीमा ०.३३ र अन्य समूह ०.२९ प्रतिशतले घट्यो ।
सर्वाधिक कारोबार हुने कम्पनी
आज ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८६÷८७ को सर्वाधिक सेयर कारोबार भयो । यो डिबेञ्चरको आज ३३ करोड ११ लाख बढीको कारोबार भयो । यस्तै ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८४÷८५ को ३२ करोड ७६ लाख, सोपान फर्मास्युटिकल्सको २० करोड १३ लाख, आँखुखोला जलविद्युत १९ करोड ५२ लाख र युनाइटेड मोदी हाईड्रोको १४ करोड २९ लाख बढीको सेयर कारोबार भयो ।
सर्वाधिक कमाउने र गुमाउने कम्पनी
आज कारोबारमा आएका कम्पनीहरुमध्ये एउटा मात्रै कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो। आज एपोलो हाईड्रोपावरको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।
यस्तै सोपान फर्मास्युटिकल्सको सेयरमूल्य १४.०२ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ९.०८, रिलायन्स फाइनान्सको ६.७२ र गुराँस लघुवित्तको सेयरमूल्य ४.५५ प्रतिशतले बढ्यो ।
यो दिन बुङ्गल हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात १२.४५ प्रतिशतले घट्यो । आत्मनिर्भर लघुवित्तको सेयरमूल्य पनि आज १०.२१ प्रतिशत र सालपा विकास बैंकको सेयरमूल्य ३.२८ प्रतिशतले घट्यो ।

