काठमाण्डौ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा आ-आफ्नै अडानमा रहेका प्रमुख सत्तारुढ घटक कांग्रेस र एमालेका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ ।
गभर्नर नियुक्तिमा दुवै दलको आ आफ्नो दाउका कारण गठबन्धनको भविष्यमाथि नै प्रश्नहरु उठिरहेको र प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएको मन्त्रिपरिषद बैठकबाट गभर्नर नियुक्त गर्ने वचन दिइसकेको अवस्थामा दुई पार्टीका शीर्ष नेताहरुबीच छलफल हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
केहीबेरअघिदेखि प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरुबीच छलफल भइरहेको हो ।
छलफलमा प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेल तथा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखक सहभागी छन् ।
आज साँझ ५ः३० बजे मन्त्रिपरिषद बैठक बोलाइए पनि त्यसअघि शीर्ष नेताहरुबीच छलफल सुरु भएको हो ।
छलफलमा गभर्नर नियुक्तिको विषयमा कुराकानी हुने अनुमान गरिएको छ ।
कतिपय स्रोतहरुले भने आजको छलफललाई गठबन्धनको भविष्यका लागि महत्वपूर्ण पनि भनेका छन् । किनभने प्रधानमन्त्री ओलीले आज गभर्नर नियुक्त गर्न चासो दिएका छैनन् । यही विषय बुझेका कांग्रेस सभापति देउवाले भोलि(शुक्रबार) बुढानिलकण्ठस्थित आफ्नै निवासमा एमालेसँगको सत्ता सहकार्य र गठबन्धनको भविष्य लगायतको विषयमा छलफल गर्न भन्दै पार्टी पदाधिकारी बैठक बोलाएका छन् ।