काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग प्रत्यक्ष र तत्काल वार्ता सुरु गर्न चाहेको बताएका छन् । उनले यही मे १५ गतेदेखि वार्ता सुरु हुने बताए ।
शनिबार राति टिभी मार्फत जनतालाई सम्बोधन गर्दै पुटिनले भने, ‘हामी वार्ता गम्भीर होस् भन्ने चाहन्छौं ताकि यो युद्धको जरासम्म पुग्न सकियोस् र बलियो र दिगो शान्ति स्थापना होस्।’
बेलायती प्रधानमन्त्री कियर स्टारर र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले शनिबार युक्रेनको भ्रमण गर्दा उनको बयान आएको हो। यस भ्रमणका क्रममा दुवै नेताले रुससँग ३० दिनका लागि बिनाशर्त युद्धविरामको माग गरेका थिए ।
रुसी प्रवक्ता दिमित्री पेस्कोभले मस्कोले यसमा विचार गर्ने तर दबाब दिनु भने भने बेकार भएको चेतावनी दिएका थिए ।
पुटिनले टर्कीको इस्तानबुलमा हुन चाहेको वार्ताले नयाँ युद्धविराम वा सम्झौता हुन सक्ने सम्भावनालाई अस्वीकार नगर्ने बताए। उनले आइतबार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग यस विषयमा विस्तृत कुराकानी गर्ने बताए ।
युक्रेनले अहिलेसम्म वार्ताको निमन्त्रणालाई जवाफ दिएको छैन।