काठमाण्डौ । अमेरिकामा एउटा यात्रुवाहक विमानले टेकअफ लगत्तै आपतकालीन अवतरण गर्नुपरेको छ । रिपोर्टका अनुसार डेल्टा एयरलाइन्सको बोइङको विमान लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार एटलान्टाका लागि उडेको थियो तर त्यसको एउटा इन्जिनमा उडेको केही समयमै आगो लागेको थियो।
त्यसपछि विमान आकस्मिक अवतरणका लागि फर्किनुपरेको थियो । घटनाको भिडियो सार्वजनिक भएको छ, जसमा बोइङ ७६७–४०० विमानको बायाँ इन्जिनबाट आगो निस्किरहेको देख्न सकिन्छ।
उडानहरुको बारेमा खबर दिने युट्युब च्यानल एलए फ्ल्याइटले लाइभ कभरेजको क्रममा विमानको आपतकालीन अवतरणलाई कैद गरेको हो । उक्त भिडियोमा इन्जिनबाट आगो आईरहेको र ग्राउन्ड चालक दलको द्रुत प्रतिक्रिया देखाइएको छ ।
तर, घटनामा कुनै मानवीय क्षति नभएको र विमान धावनमार्गमा अवतरण गरेपछि दमकलका कर्मचारीले इन्जिनमा लागेको आगो नियन्त्रणमा लिएका थिए ।
एभिएसन ए टु जेटको रिपोर्टका अनुसार एयरपोर्टबाट उडेको केही क्षणमै विमानमा आगो लागेको थियो । जसपश्चात उडानका चालक दलले आपतकालीन घोषणा गरी विमानस्थलमा अवतरण गर्ने तयारी गरेका थिए । एयर ट्राफिक कन्ट्रोल (एटीसी) ले विमानलाई एयरपोर्टमा फर्काउन निर्देशन दिएको र जमिनमा आपतकालीन सेवाहरूलाई सूचित गरेको एटुजेटले जनाएको छ ।
आगलागीको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए( ले घटनाको अनुसन्धान सुरु गरेको छ। विमान लगभग २५ वर्ष पुरानो हो र यो जनरल इलेक्ट्रिक सीएफ६ इन्जिनद्वारा संचालित छ।