काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद ब्याज आम्दानी घटेसँगै नाफामा पनि गिरावट आएको छ । संस्थाले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार संस्थालको खुद ब्याज आम्दानी २२.५२ प्रतिशतले घटेको छ ।
संस्थाले गत आवको चौथो त्रैमाससम्म २२ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा यस्तो रकम २८ करोड ९८ लाख थियो ।
यस्तै संस्थाले यो अवधिमा १० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २७.१९ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले १४ करोड १७ लाख खुद नाफा कमाएको थियो ।
संस्थाको खुद सञ्चालन आम्दानी पनि ३४.७० प्रतिशतले घटेर २० करोड ३६ लाख रुपैयाँमा सीमित बनेको छ । संस्थाको वितरणयोग्य मुनाफा ८ करोड ५४ लाख र वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी ७.९८ प्रतिशत रहेको छ ।
यो अवधिमा संस्थाको रिटेन्ड अर्निङ पनि घटेको छ । अघिल्लो आवमा ९ करोड ७३ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङ घटेर ८ करोड ५४ लाखमा सीमित बनेको छ । संस्थाको रिजर्भको आकार भने १६ करोड ४५ लाख रुपैयाँबाट बढेर १८ करोड २९ लाख रुपैयाँ पुगेको छ ।
यसैगरी संस्थाले २ करोड ६८ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्टाएको छ । संस्थाको खराब कर्जा अनुपात ३.३१ प्रतिशतबाट बढेर ३.३४ प्रतिशत कायम भएको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)९.९८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७९५.३९ रुपैयाँ, पीई रेसियो ७०.२६ गुणा, तरलता अनुपात २६.९१ प्रतिशत र प्रतिसेयर नेटवर्थ १२५.९५ रुपैयाँ कायम भएको छ ।