काठमाण्डौ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) द्वारा आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ आजदेखि सुरु भएको छ । साउन २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने यो एक्स्पोको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन् ।
गत वैशाख ३ गते औपचारिक रुपमा सञ्चालनमा आएको नाइमाले पहिलोपटक अटो एक्स्पो आयोजना गरेको हो । यसपटकको एक्स्पोमा ५० भन्दा बढी ब्राण्ड, १५ वटा दुई पांग्रे, १५ वटा चार पांग्रे, र ५ वटा कमर्सियल सवारी साधनसहित ३५ नयाँ सवारी साधनहरू सार्वजनिक गरिने छन्। प्रदर्शनीमा विद्युतीय सवारी साधन, स्मार्ट मोबिलिटी सोल्युसन, र ट्राफिक तथा रोड सेफ्टी प्रविधिहरू पनि प्रस्तुत गरिने आयोजकले जनाएको छ।
कार्यक्रमको प्रमुख प्रायोजक एभरेष्ट बैंक लिमिटेड र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन्। साथै, खल्ती बाई आईएमई टिकटिङ पार्टनर, माउन्टेन ड्यु बेभरेज पार्टनर, पठाओ राइड पार्टनर, एचआईके भिजन सुरक्षा साझेदार, र सोल्टी होटल हस्पिटालिटी पार्टनर रहेका छन्।
प्रदर्शनी अवधिभर पठाओले ३० प्रतिशत छुट दिनेछ भने फ्रन्टलाइन हस्पिटलले चौबिसै घण्टा एम्बुलेन्स र स्वास्थ्य सेवा उपलब्ध गराउनेछ। साथै, ‘नाइमा अनलाइन भिडियो प्रतियोगिता’ समेत सार्वजनिक गरिएको छ जसमा सहभागीले भिडियो बनाइ श्रावण २१ भित्र अपलोड गरेमा उत्कृष्ट एक जनालाई १ लाख रुपैयाँ र अन्य १० जनालाई १० हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ।
एक्स्पो अवधिभर विभिन्न अन्तर्राष्ट्रिय विज्ञहरू सहभागी हुने ज्ञानवर्धक सत्र पनि सञ्चालन हुनेछन्। पहिलो दिन अनिल केशरी शाहले ‘मोबिलिटीः हिजो, आज र भोलि’ विषयमा सेसन सञ्चालन गर्नेछन्। त्यसपछि त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगलगायतका निकायका विज्ञहरूले आ–आफ्नो अनुभव सुनाउनेछन् ।
प्रदर्शनीको टिकट खल्ती बाई आईएमई एपमा उपलब्ध छ।