काठमाण्डौ । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई सरकारले पदमुक्त गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारी स्रोतले जनाएको छ।
पूर्वउच्च अदालत न्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा बनेको समितिले आइतबार प्रतिवेदन बुझाएपछि सो निर्णय गरिएको हो। समितिले ओझाको योग्यता पर्याप्त नभएको, कानुन अनुसारका मापदण्ड पूरा गर्न अझ अनुभव आवश्यक रहेको र कार्यक्षमतामा प्रश्न उठाउने निष्कर्ष निकालेको थियो।
ओझालाई सरकारले गत फागुन १२ गते बीमा कम्पनी नियामक निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो। तर, नियुक्तिपछि उनको योग्यतामाथि विवाद उत्पन्न भएको थियो। अधिवक्ता इन्दिरा धमलाले १७ चैतमा रिट दायर गर्दै उनी आवश्यक योग्यता नभएको दाबी गरेकी थिइन्।