काठमाण्डौ । साताको चौथो कारोबार दिन आज सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.२१ प्रतिशत अर्थात ५.७० अंकले बढेर २ हजार ६२५.७० विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२६ प्रतिशतले बढेर ४५१.८६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३२ वटा स्क्रिप्टको ८५ लाख ९८ हजार ४२४ कित्ता सेयर ४ अर्ब ५ करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । अघिल्लो दिन भने ३ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।
आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘बजारमा केही समययता साइडवेज फेज चलिरहेको थियो र सानो–सानो अंकको करेक्सन देखिएको थियो । हिजो र आज बजारमा सामान्य सुधार मात्रै देखिएको छ, तर अझैपनि बजार साइडवेजमै चलेको मान्नुपर्छ । लगानीकर्ताहरुमा कन्फिडेन्ट बढ्न नसकेका कारण बजार ठूलो अंकले बढीहाल्ने जस्तो छाँटकाँट देखिँदैन ।’
उनले थपे, ‘पुष मसान्तसम्म सूचीकृत कम्पनीहरुले साधारण सभा गरिसक्नुपर्ने र लाभांश सिजन भएका कारण बजार ह्वात्तै घटिहालेको पनि छैन र राम्रै अंकले माथि पनि जान सकिरहेको छैन । समग्रमा राजनीतिक पक्षले बजारलाई प्रभाव पार्ने भएकाले चुनाव हुने नहुने अन्योलता कायम हुँदा बजारले लय लिन नसकेको बुझ्न सकिन्छ । अझै केही समय बजारमा सानो–सानो करेक्सनहरु देखिन सक्छ तर बजार विस्तारै माथि जाने सम्भावना छ । साथै यो समय मिड टर्म र लङ टर्म इन्भेष्टरहरुका लागि लगानी गर्न पनि उचित समय हुन सक्छ ।’
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूह मध्ये तीनवटा बाहेक अन्य सबैमा हरियाली छायो । आज फाइनान्स समूह सर्वाधिक अर्थात १.७५ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.३१, विकास बैंक ०.७१, हाईड्रो ०.१३, लगानी ०.०४, जीवन बीमा ०.६६, उत्पादन तथा प्रशोधन ०.४०, लघुवित्त ०.०७, म्युचुअल फण्ड ०.४९ र अन्य समूह ०.०४ प्रतिशतले बढ्यो ।
आज होटल समूह ०.३७, निर्जीवन बीमा ०.३६ र व्यापार समूह ०.२७ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज युनियन हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २२ करोड ७८ लाख बढीको सेयर कारोबार भयो ।
यस्तै मञ्जु श्री फाइनान्सको १३ करोड ७६ लाख, ङादी ग्रुप पावरको ११ करोड ४९ लाख र हिमालयन रि इन्स्योरेन्स १० करोड ५८ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज स्वस्तिक लघुवित्त, र एसवाई प्यानलको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
यस्तै नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ८.७७ प्रतिशत, चिरख्वा हाईड्रोको ५.३३ र माई खोला हाईड्रोको सेयरमूल्य ४.३३ प्रतिशतले बढ्यो ।
यो दिन स्वेत बाराही हाईड्रोको सेयरमूल्यमा लोवर सर्किट लाग्यो । अप्पर स्याङ्गे हाईड्रोको सेयरमूल्य आज ३.२१ र इष्टर्न हाईड्रोको सेयरमूल्य ३.०९ प्रतिशतले घट्यो ।

