काठमाण्डौ । वाणिज्य बैंकहरुले पौने ४४ अर्ब रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ८ महिनासम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ नाफा कमाएका हुन् ।
यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ०.८९ प्रतिशत मात्रै बढी हो । गत आवको फागुन मसान्तसम्म वाणिज्य बैंकहरुले ४३ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ नाफा कमाएका थिए ।
सो अवधिसम्म आइपुग्दा आधा भन्दा बढी वाणिज्य बैंकहरुको मुनाफा गत आवको तुलनामा घटेको छ भने आधा भन्दा कम बैंकको मात्रै बढेको छ । कुमारी बैंकसहित ९ बैंकको नाफामा उल्लेख्य बृद्धि हुँदा समग्र वाणिज्य बैंकहरुको नाफामा बढोत्तरी देखिएको हो ।
फागुन मसान्तसम्ममा सबैभन्दा बढी नाफा कमाउने बैंकमा नबिल बैंक रहेको छ । यो बैंकले ६ अर्ब ७ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा गत आवको तुलनामा २६.८७ प्रतिशत बढी हो ।
त्यस्तै, ग्लोबल आइएमई बैंकले पनि ४ अर्ब ६२ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । तर बैंकको नाफामा सामान्य गिरावट आएको छ । गत आवको सोही अवधिसम्म बैंकले ४ अर्ब ७२ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको थियो । यसर्थ बैंकको मुनाफा २.२६ प्रतिशतले घटेको छ ।
यसका साथै कुमारी बैंकmले ३ अर्ब ६३ करोड ८ लाख, एभरेष्ट बैंकले २ अर्ब ९० करोड ७९ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ८८ करोड ८ लाख, प्राइम कमर्सियल बैंकले २ अर्ब ७४ करोड ५२ लाख, एनएमबि बैंकले २ अर्ब ६४ करोड ६६ लाख, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ३३ करोड ९० लाख, सानिमा बैंकले २ अर्ब ७ करोड ३९ लाख, सिद्धार्थ बैंकले २ अर्ब ४ करोड ८१ लाख र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ८० करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, प्रभु बैंकले १ अर्ब ७४ करोड ६९ लाख, माछापुच्छ्रे बैंकले १ अर्ब ४८ करोड ४४ लाख, नेपाल एसबिआई बैंकले १ अर्ब ३८ करोड ५० लाख, हिमालयन बैंकले १ अर्ब ३२ करोड २५ लाख, कृषि विकास बैंकले १ अर्ब २२ करोड १८ लाख, नेपाल बैंकले १ अर्ब १८ करोड ६८ लाख, सिटिजन्स बैंकले ८० करोड ७ लाख, लक्ष्मी सनराइजले ६५ करोड ४ लाख रुपैयाँ र एनआइसी एशिया बैंकले ३० करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ ।
गत आवको तुलनामा सबैभन्दा बढी नाफा बृद्धि गर्नेमा कुमारी बैंक रहेको छ । यो बैंकले २७४.६५ प्रतिशतले नाफा बढाएको छ ।
त्यस्तै, ११ बैंकको नाफा भने गत आवको तुलनामा घटेको छ । सर्वाधिक घट्नेमा लक्ष्मी सनराइज बैंक रहेको छ । यो बैंकको नाफा ६७.३६ प्रतिशतले घटेको छ ।

