काठमाण्डौ । अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक गरेको सम्पत्ति विवरणमा देशका विभिन्न भागमा फैलिएको जग्गा, सेयर लगानी र अन्य सम्पत्तिहरू उल्लेख गरिएको छ। सार्वजनिक विवरण अनुसार वाग्लेसँग काठमाण्डौको चन्द्रागिरी क्षेत्रमा ३ रोपनी जग्गा रहेको छ।
साथै, ललितपुरको सानेपा र भैंसेपाटी, धुलिखेल, बन्दीपुर, गोरखाको शहीद लखन गाउँपालिका तथा गोरखा नगरपालिका, चितवनको रत्ननगर र तनहुँको भानु नगरपालिका क्षेत्रमा समेत जग्गा रहेको उल्लेख छ।
आर्थिक विवरणअनुसार उनीसँग करिब ४५ तोला सुन रहेको छ, जुन पारिवारिक तथा वैध आम्दानी स्रोतबाट आर्जन गरिएको जनाइएको छ। त्यस्तै विभिन्न वित्तीय संस्थामा करिब १ करोड ९० लाख रुपैयाँ बराबरको नगद तथा निक्षेप रहेको विवरणमा उल्लेख छ।
लगानी संरचनामा सांग्रीला डेभलपमेन्ट बैंक र सानिमा मिडिल तमोर हाइड्रोपावरलगायत कम्पनीमा करिब १ लाख कित्ता प्रमोटर सेयर रहेको देखिन्छ। साथै, अन्य सेयर लगानीको कुल मूल्य करिब ५ करोड ५० लाख रुपैयाँ बराबर रहेको बताइएको छ।
त्यसैगरी करिब ९४ लाख रुपैयाँ मूल्य पर्ने सवारी साधन पनि उनको सम्पत्तिमा समावेश छ।

