काठमाण्डौ । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज मध्यान्ह १२ बजेर १५ मिनेटमा बजे बस्ने भएको छ। बैठकमा विभिन्न विधेयक तथा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि महत्वपूर्ण छलफल हुने कार्यसूची रहेको छ।
बैठकको प्रारम्भमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा सभामा जानकारी गराउनेछन् ।
त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। सोही प्रस्तावअनुसार बजेटमाथिको सामान्य छलफल आजबाट औपचारिक रूपमा प्रारम्भ हुने छ।
त्यसैगरी अर्थमन्त्री वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सभामा प्रस्तुत गर्नेछन् ।

