काठमाण्डौं । लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट प्रतिनिधित्व गरेका चार मन्त्री परिवर्तन हुने भएका छन्।
मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि एमाले कोटाबाट सरकारमा रहेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका हुन्।
सत्ता साझेदार नेपाली कांग्रेससँग सरकार पुनर्गठनबारे लामो समयदेखि छलफल चलिरहेका बेला एमालेले आफ्ना मन्त्रीहरूको जिम्मेवारी फेरबदल गर्ने निर्णय गरेको हो।
यसअघि पनि मन्त्री परिवर्तनको गृहकार्य भएपनि कांग्रेसले मुख्यमन्त्रीसहित समग्र मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने अडान लिएपछि प्रक्रिया अघि बढ्न सकेको थिएन।
पार्टी नेतृत्वको निर्णयअनुसार हाल सरकारमा रहेका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम सारुमगर र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले पदबाट हट्ने तयारी गरेका छन्।
उनीहरूले आज साँझसम्म राजीनामा बुझाउने सम्भावना रहेको स्रोतले जनाएको छ।
एमालेले नयाँ मन्त्रीका रूपमा गुल्मीका डिल्लीराज भुषाल, अर्घाखाँचीका रामजी घिमिरे, रुपन्देहीका तुलसीप्रसाद चौधरी र बाँकेका रत्न खत्रीलाई अघि सारेको बताइएको छ।
खत्री यसअघि प्रदेश सरकारमा मन्त्रीको अनुभव बटुलिसकेका नेता हुन् भने अन्य तीन जना पहिलो पटक मन्त्री बन्ने दौडमा छन्।
यसैबीच, लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालयको संख्या घटाएर ८ मा सीमित गर्ने नीति अघि बढाएको छ।
सरकारको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको उक्त व्यवस्थाले प्रदेश सरकारको संरचनामा थप परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
एमालेको मन्त्री हेरफेरलाई प्रदेश सरकारभित्र नयाँ राजनीतिक सन्तुलन कायम गर्ने प्रयासका रूपमा समेत हेरिएको छ।

