काठमाण्डौं । भन्सार छली गरी नेपाल भित्र्याइएको हुन सक्ने आशंकामा सशस्त्र प्रहरी बल नेपालले ७७४ वटा विद्युतीय सवारीसाधन (ईभी) नियन्त्रणमा लिएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार ती सवारीसाधन मुस्ताङको कोरला नाका हुँदै नेपाल प्रवेश गरेको देखिएको छ।
सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका अनुसार प्राप्त गोप्य सूचनाका आधारमा विभिन्न स्थानमा एकसाथ निगरानी तथा जाँच अभियान सञ्चालन गरिएको थियो।
सोही क्रममा मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जा क्षेत्रबाट सयौं विद्युतीय सवारीसाधन नियन्त्रणमा लिइएको हो।
कारबाहीका लागि मुस्ताङस्थित नं. ३३ गुल्म, म्याग्दी गुल्म, पर्वतको नं.२५ चण्डिका गण तथा कास्कीको नं. २४ कालिका गणबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो।
ती टोलीहरूले विभिन्न स्थानमा जाँच गर्दा आवश्यक भन्सार प्रक्रिया पूरा नभएको आशंकामा सवारीसाधनहरू नियन्त्रणमा लिएका हुन्।
यसै क्रममा नुवाकोटको पासाङल्हामु राजमार्ग क्षेत्रमा गरिएको चेकजाँचका क्रममा थप दुई वटा गाडी पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
नियन्त्रणमा परेका सवारीसाधनहरूको आयात प्रक्रिया, भन्सार तिर्नुपर्ने राजस्व तथा सम्बन्धित कागजातबारे विस्तृत अनुसन्धान भइरहेको छ।
अनुसन्धान पूरा भएपछि आवश्यक कानूनी प्रक्रिया अघि बढाइने र सम्बन्धित निकायसँग समन्वय गरी थप कारबाही गरिने सशस्त्र प्रहरी बलले जनाएको छ।

