काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । चौथरी आज प्रज्ञा भवन कमलादी परिसरबाट पक्राउ परेका हुन् । पक्राउपश्चात उनलाई डिल्लीबजार कारागार लगिएको छ । आज नै जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम थियो । उनलाई त्यहीँबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
चौधरीलाई फैसला कार्यान्वयनका लागि लेखी आएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । टीकापुर काण्डका प्रमुख आरोपी चौधरीलाई २०७२ भदौमा अदालतले जन्मकैदको सजाय सुनाएको थियो । तर राष्ट्रपतिबाट कैद मिनाहा पाउदै उनी २०८० जेठ १५ गते जेलबाट छुटेका थिए ।
उनको आममाफीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । उक्त रिटमा सर्वोच्चले आममाफीको फैसला उल्टाइदिएपछि चौधरी पक्राउ परेका हुन् ।
चौधरी पक्राउ परेसँगै आज हुने तय भएको नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभा स्थगित भएको छ । चौधरीको पक्राउविरुद्ध नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ता र उनका समर्थकहरुले नाराबाजी गरेका छन् ।