काठमाण्डौ । अपर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १२ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १९६.१३ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ४ करोड १४ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद विद्युत बिक्री आम्दानी पनि बढेको छ । कम्पनीको विद्युत बिक्रीमार्फत ५८ करोड ५६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा यस्तो रकम ५५ करोड ४० लाख रहेको थियो । कम्पनीको प्रशासनिक खर्च १ करोड १३ लाख, कर्मचारी खर्च १ करोड ३२ लाख र वित्त खर्च २२ करोड ७ लाख रहेको छ ।
कम्पनीको चुक्तापूँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब १७ करोड रुपैयाँ दीर्घकालिन कर्जा र १७ करोड ५७ लाख रुपैयाँबराबरको अल्पकालिन कर्जा लिएको छ । कम्पनीको कुल चालु सम्पत्ति २० करोड ९८ लाख र कुल चालु दायित्व २० करोड ५५ लाख रुपैयाँ छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)९.१० रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १०३.५४ रुपैयाँ,मूल्य आम्दानी अनुपात ६१.८५ गुणा र तरलता अनुपात १.०२ प्रतिशत कायम छ ।