काठमाण्डौ । भारत–पाकिस्तान युद्धविरामपछि सोमबारदेखि बन्द भएका सबै भारतीय विमानस्थल खोलिएका छन् । भारत–पाकिस्तान तनावको बीचमा, यी एयरपोर्टहरू ७ मेदेखि मे १५ बिहानसम्मका लागि अस्थायी रूपमा बन्द गरिएको थियो।
भारतीय विमानस्थल प्राधिकरणले विज्ञप्ति जारी गर्दै सिभिल एयरक्राफ्ट सञ्चालनका लागि बन्द गरिएका ३२ विमानस्थल अब तत्काल लागू हुने गरी सिभिल विमान सञ्चालनका लागि उपलब्ध गराउने जनाएको छ ।
विज्ञप्तिमा, यात्रुहरूलाई यी विमानस्थलहरूमा उडानहरूका लागि पहिले सम्बन्धित वायुसेवा कम्पनीहरूबाट जानकारी लिन र नियमित अपडेटका लागि सम्बन्धित एयरलाइन्सको वेबसाइटमा जान सल्लाह दिइएको छ।
इन्डिगो एयरलाइन्सले सोसल मिडिया प्लेटफर्म एक्समा यसबारे जानकारी दिएको छ। ट्राभल एडभाइजरी जारी गर्दै कम्पनीले सबै विमानस्थल नागरिक उडानका लागि खुला गरेको लेखेको छ ।
सेवा सामान्य हुन केही समय लाग्ने कम्पनीले जनाएको छ । यस्तो अवस्थामा एयरलाइन्सले यात्रुलाई विमानस्थल पुग्न केही समय थप गर्न सल्लाह दिएको छ ।