काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जीवन बीमातर्फका सबै कम्पनीहरुलाई प्रथम बीमाशुल्कका अतिरिक्त नवीकरण बीमाशुल्क तथा म्यादी जीवन बीमाशुल्कलाई समेत अनिवार्य समावेश गर्न निर्देशन दिएको छ ।
प्राधिकरणले जीवन बीमा कम्पनी र लघुजीवन बीमा कम्पनीहरूलाई आगामी आर्थिक वर्षका लागि आ–आफ्ना मातहतका कर्मचारी, विभाग, प्रादेशिक कार्यालय र शाखा तथा उपशाखा कार्यालयहरूलाई व्यवसायिक लक्ष्य (आवधिक रूपमा तय गर्ने मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक लक्ष्य) निर्धारण गर्दा प्रथम बीमाशुल्कका अतिरिक्त नवीकरण बीमाशुल्क तथा म्यादी जीवन बीमाशुल्कलाई समेत अनिवार्य समावेश गर्न निर्देशन दिएको हो ।
बीमकहरूले मातहतका कर्मचारी र विभाग तथा कार्यालयहरूलाई व्यवसायिक लक्ष्य निर्धारण गर्दा सावधिक र एकल बीमाशुल्क भुक्तानी हुने बीमालेखहरूलाई मात्र प्राथमिकता दिने गरेका गुनासाहरू आउने गरेको प्राधिकरणको भनाई छ ।
बीमकहरू ठूलो रकमको बीमाशुल्क सङ्कलनमा केन्द्रित हुँदा बीमाको पहुँच न्यून आय भएका बर्गसम्म पुग्न नसकेको, बीमा अवधि नपुग्दै बीमालेख व्यतित तथा समर्पण हुने लगायतका समस्या देखापरेको र त्यसबाट गुणस्तरीय एवम् भरपर्दो बीमा सेवा प्रवाहमा चुनौति थपिएको सन्दर्भमा प्राधिकरणले त्यस्तो निर्देशन दिएको हो ।