काठमाण्डौ । कामना सेवा विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०८१ ८२ को चौथो त्रैमाससम्ममा १७.३० प्रतिशत लाभांश क्षमता बनाउने गरी नाफा आर्जन गरेको छ ।
बैंकले शुक्रबार चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै लाभांश क्षमता १७.३० प्रतिशत कायम भएको जनाएको हो ।
कुल ३ अर्ब ५१ करोड चुक्तापूँजी भएको बैंकले समीक्षा अवधिमा ६० करोड ७४ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको छ ।
गत वर्ष यही अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४१ करोड १२ लाख तथा लाभांश क्षमता १२.५३ प्रतिशतसहितको वित्तीय विवरण सार्वजनिक भएको थियो ।
समीक्षा अवधिमा बैंकको खूद नाफा ६३ करोड ५२ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ५८ करोड १८ लाखमा सीमित थियो ।
यस्तै, अघिल्लो वर्षको यही अवधिमा ९६ करोड ७८ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर यो वर्ष ९८ करोड ६९ लाखको उचाईमा पुगेको देखिएको छ ।
अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब १३ करोड खूद ब्याज आम्दानी गरेकोमा यो वर्ष त्यो बढेर २ अर्ब २४ करोड माथि पुगेको छ । ब्याजदर घटेको बेला समेत अघिल्लो वर्षको तुलनामा खूद ब्याज आम्दानी बढ्नुले समीक्षा अवधिमा बैंकको राम्रै व्यवसाय वृद्धि भएको देखिन्छ ।
कर्जा तथा सम्भावित जोखिम व्यवस्थापनका लागि अघिल्लो वर्ष बैंकले ३५ करोड ८२ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जको रुपमा छुट्याएकोमा यो वर्ष ४१ करोड ७४ लाख बढी छुट्याएको छ । इम्पेयरमेन्ट चार्ज अघिल्लो वर्षको तुलनामा बढ्दा समेत नाफा बढाउनु पनि बैंकका लागि सुखद देखिन्छ ।
समीक्षा अवधिमा बैंकले ६२ अर्ब ८३ करोड बढी निक्षेप संकलन गरी ४९ अर्ब ९६ करोड बढी कर्जा प्रवाह गरेको देखिन्छ । अघिल्लो वर्षको यही अवधिमा ५९ अर्ब ६ करोड निक्षेप संकलन गरी ४५ अर्ब ९७ करोड बढी कर्जा प्रवाह गरेको थियो । यसरी निक्षेप र कर्जातर्फ नै बैंकले सुधार गरेको देखिएको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ १० पैसा कायम भएको छ, जुन अघिल्लो वर्ष १७ रुपैयाँ ७३ पैसा थियो ।
अघिल्लो वर्ष ११.५० प्रतिशत रहेको रिटर्न अन इक्वीटी भने यो वर्ष केही घटी ११.२६ प्रतिशत कायम भएको देखिएको छ भने सम्पत्तिमा प्रतिफल भने ०.९० प्रतिशतबाट बढेर ०.९२ प्रतिशत कायम भएको छ ।
निस्क्रिय कर्जा अघिल्लो वर्ष ३.३६ प्रतिशतबाट बढेर ३.३८ प्रतिशत पुगेको छ भने नेट एनपीएल भने अघिल्लो वर्षको ०.९१ प्रतिशतबाट घटेर ०.१९ प्रतिशतमा सीमित बन्न पुगेको छ ।
समीक्षा अवधिमा बैंकको कस्ट अफ फण्ड घटेर ५.०९ प्रतिशतमा सीमित बनेको छ भने आधार दर पनि घटेर ७.०७ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १६८.१३ रुपैयाँ, मूल्य आम्दानी अनुपात २७.६९ गुणा र तरलता अनुपात २४.४९ प्रतिशत तथा क्यापिटल एडेक्वेसी रेसियो १३.२० प्रतिशत कायम भएको छ ।
