काठमाण्डौ । अमेरिकी उपराष्ट्रपति जेडी भान्स र बेलायती विदेशमन्त्री डेभिड ल्यामीले युक्रेनको युद्धबारे छलफल गर्न सुरक्षा अधिकारीहरूसँग भेट गरेका छन् ।
भेट शनिबार लन्डन नजिकैको केन्टस्थित ल्यामीको सरकारी निवासमा भएको थियो । यसमा युक्रेनको राष्ट्रिय सुरक्षा र रक्षा परिषद्का सचिव रुस्तम उमरोभ, जेलेन्स्कीको कार्यालयका प्रमुख एन्ड्री येर्माक र बेलायत, अमेरिका, ईयू, फ्रान्स, जर्मनी, इटाली, फिनल्याण्ड र नाटोका अधिकारीहरू सहभागी थिए।
यो बैठक अमेरिकाको पहलमा बोलाइएको बताइएको छ ।
सो अवसरमा युक्रेनी अधिकारीहरू र युरोपेली राष्ट्रिय सुरक्षा सल्लाहकारहरू पनि उपस्थित थिए। ‘युक्रेनलाई बेलायतको पूर्ण समर्थन छ र हामी न्यायसंगत र दिगो शान्तिको लागि काम गरिरहनेछौं,’ ल्यामीले भने।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसलाई कुनै पनि क्षेत्रीय छुट नदिने स्पष्ट पारेको बेला यो बयान आएको हो । जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अर्को साता अलास्कामा हुने शिखर वार्ता अघि यस्तो बताएका हुन् ।