काठमाण्डौ । ‘एकपटक सफलता प्राप्त भयो भने अर्को सफलता पनि सजिलै प्राप्त हुन्छ ।’ यो भनाई भारतीय व्यवसायी अनिल अम्बानीले सन् २००४ मा बिबिसीसँगको अन्तर्वार्ताको क्रममा भनेका थिए ।
त्यतिबेला उनी आफ्नो बुवा धिरुभाई अम्बानीले जग बसालेको कम्पनी रिलायन्स इन्डष्ट्रिजमा काम गर्थे र जेठा दाजु मुकेश अम्बानीको समेत उनलाई साथ रहेको थियो ।
तर केही महिनापछि भने घटनाक्रममा तीव्र परिवर्तन आयो र दुई दाजुभाईबीच व्यवसाय दुई हिस्सामा विभाजन गर्नेसम्मको अवस्था सिर्जना भयो ।
अनिलको भागमा ती व्यवसायहरु परे जो उनी चाहन्थे वा जसले उनको व्यक्तित्व झल्काउथ्यो । अनिलको हिस्सामा टेलिकम, वित्तीय सेवा र उर्जा जस्ता उदीयमान व्यवसायहरु परे ।
तथापी रिलायन्स समूहको मुख्य कारोबार भने पेट्रोकेमिकल्स थियो । तर आत्मविश्वासले भरिपूर्ण अनिलले नयाँ जमानाको यी कारोबारहरुमा सफलताको अधिक सम्भावना देखे ।
त्यसबेला भारतीय टेलिकम क्रािन्तको मुखमा उभिएको थियो र भारतले उर्जा,बीमा र वित्तीय सेवा क्षेत्र विदेशी लगानीकर्ताका लागि खुला गरिरहेको थियो ।
यस्तोमा अनिल अम्बानीले सन् २००६मा अनिल धीरुभाई अम्बानी ग्रुप(एडीएजी) स्थापना गरे । कयौं विश्लेषकहरुले समेत उनको नेतृत्वको ग्रुपमाथि विश्वास गरिरहेका थिए । सन् २००८ मा उनले रिलायन्स पावरको आईपीओ ल्याए । यो भारतीय सेयर बजारका लागि ऐतिहासिक क्षण थियो । उक्त आईपीओ जारी भएको केही मिनटमै ओभर सब्स्क्राइब्ड भएको थियो ।
जति सेयर जारी गरिएको थियो त्यसको ६९ गुणा बढी आवेदन परेको थियो । यो त्यसबेलाको भारतीय सेयर बजारकै सबैभन्दा ठूलो आईपीओ थियो ।
सन् २००८ मा फोब्र्स म्यागेजिनको एउटा सर्भेले अनिल अम्बानी ४२ अर्ब डलरको सम्पत्तिका साथ विश्वकै छैठौं धनी व्यक्ति भएको जनाएको थियो ।
पेन्सलभेनिया यूनिभर्सिटीको ह्वाट्सनबाट एमबीए गरेका अनिल अम्बानीले उर्जाको कम्पनी त स्थापना गरेका थिए तर जेठा दाजु मुकेश अम्बानीसँग उनको विवाद भने अन्त्य भएको थिएन । र यो विवादले कारोबारको बीचमा अवरोध रिर्जना गरिरहेको थियो ।
सन् २०१० मा, सर्वोच्च अदालतले दुई दाजुहरूलाई पारिवारिक सम्झौताको पुनः वार्ता गर्न आदेश दियो। यससँगै अदालतले ग्यासको मूल्य निर्धारण गर्ने अधिकार सरकारलाई दियो । नयाँ सम्झौताअनुसार ग्यासको मूल्य प्रति एमएमबीटीयू (मिलियन मेट्रिक ब्रिटिश थर्मल युनिट) ४.२ डलर तोकिएको थियो भने सन् २००५ मा दाजुभाइले १७ वर्षका लागि प्रति एमएमबीटीयू २.३४ डलर तोकेका थिए।
यसबाहेक अनिल अम्बानीले दक्षिण अफ्रिकी टेलिकम कम्पनी एमटीएनसँग सम्झौता गर्ने प्रयास गरे तर यो सम्झौता पनि सफल हुन सकेन।
दूरसञ्चारमा विस्तारको अपार सम्भावना थियो तर त्यसका लागि ठूलो लगानी चाहिन्छ । अनिल अम्बानीको हरेक चाल उल्टो परिरहेको थियो । उनले हजारौं करोड रूपैयाँ चाहिने प्राजेक्टमा हात हालेका थिए । उनले विदेशमा कम्पनीहरू खरिद गर्न र आफ्नो साम्राज्य विस्तार गर्न प्रशस्त खर्च गरिरहेका थिए । र त्यसपछि सन् २००८ मा, अमेरिकामा लेहमन ब्रदर्सको पतनसँगै सम्पूर्ण विश्व आर्थिक मन्दीमा डुबेको थियो। अनिल अम्बानी पनि यसबाट अछुतो रहेनन् ।
लेहमन ब्रदर्स प्रकरणपछि भारतमा पनि बैंकिङ क्षेत्रका नियम कडा बनाइएको थियो । उद्योगीलाई पनि कर्जा पाउन समस्या हुन थालेको थियो । अनिल अम्बानी आफ्नो व्यवसाय विस्तार गर्दै थिए र पूँजी आवश्यक थियो ।
सन् २०११ मा, केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले कथित टुजीस्पेक्ट्रम घोटालामा अनिल अम्बानीलाई पनि सोधपुछ गरेको थियो ।
तडकभडकले भरिएको कार्यशैली
अनिलले रिलायन्स–अनिल धिरुभाई अम्बानी समूह (आर(एडीएजी) को अध्यक्षको पदभार ग्रहण गर्ने बित्तिकै उनको भव्य र चम्किलो कार्यशैली प्रस्ट देखिन थाल्यो। अनिल अम्बानी प्रायः मिडियामा चर्चामा रहने थाले ।
अनिल अम्बानीले आफ्नो टेलिकम व्यवसायसँग सम्बन्धित स–साना घोषणाहरूका लागि पनि प्रेस सम्मेलन बोलाउने गर्थे। उनले आफ्ना अधिकारीहरूबाट विस्तृत प्रस्तुति लिने गर्थे। उनी अमिताभ बच्चन लगायत धेरै बलिउड स्टारहरूसँग नजिक थिए र उनी प्रायः समाजवादी पार्टीका नेता अमर सिंहसँग पनि देखिएका थिए। अनिलको बलिउडप्रतिको प्रेम पुरानो थियो, उनले सन् १९९१ मा चर्चित अभिनेत्री टीना मुनिमसँग विवाह गरेका थिए । व्यवसाय विस्तार गर्दै जाँदा अनिल अम्बानीले मनोरञ्जनको क्षेत्रमा पनि प्रवेश गरेका थिए ।
उनले फिल्म निर्माता स्टीवन स्पिलबर्गको ड्रीमवर्क्स स्टुडियोसँग साझेदारीमा फिल्महरू बनाए। उनले मल्टिप्लेक्स चेन ‘एडल्याब्स’ किनेका थिए र २००८ सम्ममा भारत र विदेशमा ७०० वटा स्क्रिन भएको मल्टिप्लेक्सको सबैभन्दा ठूलो मल्टिप्लेक्स मालिक बनेका थिए ।
रिलायन्स कम्युनिकेसन्सको गलत डायलिङ
जब रिलायन्स इन्फोकम सन् २००२ मा सुरु भयो, यसले सीडीएमए (कोड डिभिजन मल्टिपल एक्सेस) प्रविधि रोज्यो। यो एक उदीयमान प्रविधि हो र एयरटेल र हचिसन जस्ता प्रतिस्पर्धी अपरेटरहरूको जीएसएम (मोबाइलका लागि ग्लोबल सिस्टम( प्रविधि भन्दा राम्रो भएको दाबी गरिएको थियो।
तर, यो सीडीएमए टुजी र थ्रीजी मा मात्र सीमित थियो। जब भारतमा फोरजीर पछि फाइभजी सेवाहरू सुरु भयो, आरकम नराम्ररी पछि पर्न थाल्यो। अवस्था यस्तो बन्यो कि कम्पनीले दूरसञ्चार व्यवसाय छाड्नु नै उचित ठाने ।
अनिल अम्बानीले सेप्टेम्बर २०१८ मा रिलायन्स कम्युनिकेसनका सेयरधारकहरूको वार्षिक बैठकमा घोषणा गरे र सञ्चा। क्षेत्रमा अघि बढ्न नसक्ने बताए । तर अनिलको समस्या यतिमै मात्रै राकिनेवाल थिएन ।
अनिलले आफ्नो दूरसञ्चार सम्पत्ति जेठा भाइ मुकेशको रिलायन्स जियोलाई १८,००० करोडमा बेच्ने सम्झौतामा हस्ताक्षर गरेका थिए। तर दुरसञ्चार विभागले जिओले रिलायन्स कम्युनिकेसनको बक्यौता पनि तिर्नुपर्ने बताएपछि यो सम्झौता ट्ट्यो । जसलाई जियोले मान्न अस्विकार गर्यो ।
राफेलबाट केही राहत
अनिल अम्बानीले २०१५ मा पिपावाव डिफेन्स एन्ड अफशोर इन्जिनियरिङ २,०८२ करोडमा किनेका थिए। रक्षा क्षेत्रमा प्रवेश गर्ने उनको मनसाय थियो, तर यहाँ पनि विवादले उनको साथ छोडेन।
विपक्षी पार्टी कांग्रेसले अनिल अम्बानीले राफेल लडाकू विमान अफसेट सम्झौतामा अनुचित फाइदा उठाएको आरोप लगायो । राहुल गान्धीले सन् २०१९ मार्च ९ मा दिल्लीमा एक पत्रकार सम्मेलनमा भनेका थिए, ‘राफेल सम्झौतामा ढिलाइ भयो ताकि अनिल अम्बानीले ३० करोड रुपैयाँ पाउन सकून्। यदि हाम्रो (यूपीए) सरकारको सम्झौता अनुसार सम्झौता भएको भए, राफेल विमान अहिले सम्म भारतमा भइसकेको हुन्थ्यो।’
अनिल अम्बानीका कम्पनिहरु ब्यापार मन्दीको सिकार भए वा कुप्रबन्धका कारण यो नियति पूरा भयो भन्ने प्रश्न हो ? कुनै समय विश्वको छैटौं धनी व्यक्ति अनिल अम्बानी विरुद्ध ऋण ठगीदेखि मनी लान्ड्रिङसम्मका मुद्दाहरू विचाराधीन छन्। सन् २०२० मा चिनियाँ बैंकबाट ऋण सम्बन्धी विवादमा बेलायतको उच्च अदालतमा सुनुवाइका क्रममा अनिल अम्बानीले आफू टाट पल्टिएको र ऋण तिर्न असमर्थ भएको स्वीकार गरेका थिए ।
अहिकले अनिल अम्बानीको कम्पनीसँग सम्बन्धित १७ हजार करोड रुपैयाँको कथित ऋण धोखाधडीको अनुसन्धान भइरहेको छ । प्रवर्तन निदेशालय (ईडी) ले अनिल अम्बानीलाई पनि मनी लान्ड्रिङ प्रकरणमा सोधपुछ गरेको छ। यसले उनको समूहका कम्पनीका सेयरधनीलाई मात्र हैरान बनाएको छैन, अनिलको आफ्नो बाँकी रहेको सेयरको मूल्य पनि खस्कँदै गएको छ ।
पछिल्लो एक महिनामा रिलायन्स इन्फ्रास्ट्रक्चरको सेयरमूल्य २८ प्रतिशतले घटेको छ । जबकि रिलायन्स पावरको सेयर पछिल्ला ५–६ कारोबार सत्रमा झण्डै २० प्रतिशतले घटेको छ ।